तस्बिरः लक्ष्मण थापा
धरान: प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले नर्सहरूको समस्या बिस्तारै समाधान हुँदै जाने विश्वास लिएको बताएका छन् ।

१९९ आँै विश्व नर्सिङ दिवसको अवसरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै सभामुख भण्डारीले नर्सहरूको समस्या समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने पनि बताए ।

केही समस्याहरू आए पनि नेपालमा नर्सहरूका लागि अवसरहरू सिर्जना हुन थालेको पनि सभामुख भण्डारीले बताए । अब हरेक सामुदायिक विद्यालयमा अनिवार्य रूपमा नर्स राख्नुपर्ने व्यवस्था भएको भन्दै उनले अब नर्सहरूको कार्यक्षेत्र पनि बढेको बताए । महङ्गो खर्च गरेर पढ्ने अनि थोरै तलबमा काम गर्नुपर्ने अवस्थाको चाँडै अन्त्य हुने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले प्रतिष्ठानमा नर्सहरूका लागि प्रशस्त अवसरहरू रहेको बताए । नर्सिङ पेशा आज धेरैको आकर्षण भइरहको भन्दै उनले प्रतिष्ठानले नर्सहरूका लागि भविष्यमा सुनौला योजनाहरू ल्याउने बताए ।

कार्यक्रममा बोल्दै नेपाल नर्सिङ सङ्घकी केन्द्रीय उपाध्यक्ष तारा शाहले नर्सहरूका समस्या समाधान गर्न स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले नेपालमा नर्सिङको भविष्य राम्रो नभएकै कारण आज धेरै नर्सहरू विदेश पलायन हुनुपरेको बताइन् ।

नेपाल नर्सिङ सङ्घ धरानका अध्यक्ष उपेन्द्र यादवले पनि नर्सहरूको अहिलेको अवस्थाबाट सन्तुष्ट हुने अवस्था नरहेको बताए । उनले नर्सिङ क्षेत्रका समस्या समाधान गर्न राज्यस्तरबाटै पहल हुनुपर्ने बताए ।

कार्यक्रममा कलेज अफ नर्सिङ धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख अङ्गुर बडूले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा बीएस्सी नर्सिङ चौथो वर्षकी निकिता ढकाल र एमएस्सी नर्सिङ दोस्रो वर्षकी देवु अधिकारीले नर्सिङ अध्ययनको क्रममा सिकेका अनुभव सुनाएका थिए ।