धरानः जिल्ला अस्पताल सुनसरीका नर्स तथा कर्मचारीले विश्व नर्स दिवसको अवसर पारेर सर्वसाधारणको निःशुल्क रक्तचाप परीक्षण गरेका छन् । उनीहरुले अस्पतालमा आएका १ सय भन्दा बढी बिरामी, कुरुवा र सेवाग्राहीको रक्तचाप परीक्षण गरेका हन् ।

रक्तचाप परीक्षणपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जिल्ला अस्पताल इनरुवाकी मेडिकल सुपरिटेन्डेन्ट डा. बिना शाक्यले नर्सिङ क्षेत्र हेर्दा सहज देखिए पनि चुनौतीपूर्ण क्षेत्र भएको बताइन् । कार्यक्रमकी प्रमुख अतिथि शाक्यले लगनशीलता र शिष्टताले नै नर्सहरुप्रति विश्वास सिर्जना हुने बताइन् ।

कार्यक्रममा जिल्ला अस्पताल सुनसरीका प्रमुख सागर प्रसाईं विशेष अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला अस्पताल सुनसरीकी स्वास्थ्यकर्मी इन्दू गौतमले स्वागत मन्तव्य राखेकी थिइन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमएसी नर्सिङ प्रथम वर्षमा अध्ययनरत छात्रा रोशनी थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता जिल्ला अस्पताल सुनसरीकी मेट्रोन तथा नेपाल नर्सिङ सङ्घ सुनसरीकी अध्यक्ष करुणा तिम्सिनाले गरेकी थिइन् ।