प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विकासमा नयाँ मोडल आवश्यक रहेको बताएका छन् । धनकुटामा आज मुख्यमन्त्रीको सम्पर्क कार्यालय उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् । आधुनिक तथा दिगो ढङ्गबाट विकास निर्माणका कार्य सञ्चालन गर्न नसके विकास र समृद्धिका कुरा नारामा मात्र सीमित रहने उनको भनाइ थियो । यस्तो भएमा बजेट खर्चमात्र हुने तर प्रतिफल हासिल नहुने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा मुख्यमन्त्री राईले धनकुटालाई आफूले कुनै पनि हालतमा सुक्न नदिने बताए । प्रदेश सरकारले स्थापना गर्ने टिचिङ हस्पिटलसमेत धनकुटामै स्थापना गर्नेसमेत उनले बताए । धनकुटा प्रदेश नम्बर १ को बिच भागमा रहेकाले मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गर्नुपरेको समेत उनले बताए ।
यातायात कार्यालयको पनि उद्घाटन
आज नै धनकुटामा यातायात कार्यालयको पनि उद्घाटन गरिएको छ । पहिलेको क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा तालीम केन्द्रमा यातायातको कार्यालय सञ्चालन गरिएको हो । सम्पर्क कार्यालयमा मुख्यमन्त्री धनकुटा आउँदा रहने तथा आवश्यक परेको खण्डमा मन्त्री परिषदको बैठक समेत सञ्चालन गरिने जनाइएको छ ।
यता, यातायात कार्यालय भने धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्ला हेर्ने गरी स्थापना गरिएको हो । यहाँबाट यातयात कार्यालयले दिने सम्पूर्ण सेवा प्रदान गरिने जनाइएको छ ।