विराटनगरः समुदाय प्रहरी साझेदारी क्रियाकलापअन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा विराटनगरस्थित सनसाइन माध्यमिक विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया आयोजना गरिएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत ३५ जना विद्यार्थी उपस्थित रहेको कार्यक्रममा नागरिक सहायता कक्ष, ड्युटी अधिकृत कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, अपराध अनुसन्धान शाखा, कार्य शाखा, उजुरी छानबिन शाखा, हिरासत व्यवस्थापन शाखा, प्रहरी परिचालन कक्षको भ्रमण गराइएको थियो ।

ती शाखाहरूबाट कसरी सेवा प्रदान गरिन्छ भन्ने जानकारी दिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । कार्यक्रमको दौरानमा मोरङ प्रहरीले सञ्चालनमा ल्याएको मोरङ प्रहरी एप्स, कलर कोटेड सेवा प्रवाह कार्ड, मापसे सचेतना परीक्षण, समुदायसँग चिया र लागूऔषध विरुद्धको अभियानबारे पनि विद्यार्थीलाई जानकारी गराइएको थियो ।

विद्यार्थीहरूसँग जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसी र प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले अपराध र समाज लगायत समसामयिक विषयमा जानकारी गराएका थिए ।