ताप्लेजुङः ताप्लेजुङ समाज नेपालले ताप्लेजुङका पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्ययनरत ७१ जना जेहेन्दार विद्यार्थीलाई प्रत्याभुत छात्रवृत्ति वितरण गरेको छ । समाजले बार्षिक शुल्क बेहोर्ने गरि जनही ९ हजार ५५० रुपैँयाका दरले छात्रवृत्ति रकम वितरण गरेको हो । आईतबार पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत ५० जनालाई छात्रवृत्ति प्रदान गरेको समाजले सोमबार सिनाम क्याम्पसका २१ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो ।

ताप्लेजुङ समाज नेपाल ताप्लेजुङबाट विभिन्न पेशा व्यवसायको शिलसिलामा काठमाण्डौमा बस्दै आएकाहरुले खोलेको सामाजिक संस्था हो । आर्थिक अभाव लगायतका कारण आफ्नो पढाईलाई निरन्तरता दिन नसकिरहेकालाई सहयोग पुगोस भन्ने उद्धेश्यले छात्रवृत्ति रकम प्रदान गरिएको समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फले बताए । छात्रवृत्ति रकम सहयोग गर्नेमा हङकङ, युके, अमेरिका, युएई लगायतका ठाउँमा रोजगारीका क्रममा रहेकाहरु समेत छन् ।

अहिले छात्रवृत्ति पाएका विद्यार्थीलाई स्नातक तह पुरा नहुँदा सम्म वार्षिक रुपमा यस्तो छात्रवृत्ति प्रदान गर्ने साथै आगामी वर्ष केहिलाई थप गर्ने समेत आफुहरुको योजना रहेको समाजका महासचिव अग्नि पौडेलले बताए । स्नातक तह पुरा गरेर राम्रो नजिता ल्याउने विद्यार्थीलाई थप शिक्षाका लागि समेत सहयोग गर्ने लक्ष रहेको पौडेलको भनाई छ । समाजका उपाध्यक्ष युवराज गुरुङले छात्रवृत्ति पाएर अध्ययन गरेका विद्यार्थी लगनशिल र उत्तरदायि बनेको खण्डमा समाज सँधै उनिहरुको साथमा रहने बताए । यस्तै अर्का उपाध्यक्ष रमेश बरालले भविष्यमा विभन्नि क्षेत्रमा लागेर जिल्लाकै सेवामा समर्पित हुन सकुन भन्ने आफुहरुको चाहाना रहेको बताए। अरु पनि जेहेन्दार र मेहनती विद्यार्थीलाई सके सम्म सहयोग गर्ने समाजको योजना रहेको बरालको भनाई छ ।

पाथीभरा बहुमुखी क्याम्पसमा छात्रवृत्तिका लागि १ सय ४२ जनाले आवेदन दिएका थिए । ति मध्ये जेहेन्दार, विपन्न अनुशासित, क्याम्पस प्रति उत्तरदायिलाई छात्रवृत्तिका लागि छनौट गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्यहाङले बताए। २०४७ सालमा स्थापना भएको पाथीभरा बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा ५ सय ५० जना र स्नातकोत्तर तहमा ५३ जना बिद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख मोहन कुमार राईले जानकारी दिए ।