इटहरीः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवैमा अहङ्कार बढेको बताएका छन् ।
काङ्ग्रेस जागरण अभियानअन्तर्गत मोरङको सुन्दरहरैँचामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दुवै नेताले पार्टी सभापति र प्रधानमन्त्रीप्रति आक्रोश पोखेका हुन् ।
गत २५ गतेदेखि शुरु भएको अभियान अन्तर्गत मोरङको सुन्दरहरँैचामा कार्यक्रम भएको थियो । सिटौला प्रमुख अतिथि रहेको कार्यक्रममा दुवै नेताले एकै स्वरमा पार्टी सभापतिको विरोध गरेका थिए । अहङ्कारले कहिल्यै पनि कसैलाई फाइदा नगर्ने भन्दै उनीहरूले कार्यकर्तालाई यस विरुद्धमा खबरदारी गर्न आग्रह गरे । कार्यकर्ताको प्रश्नको जवाफ दिने क्रममा उनीहरुले सभापतिका कारण पार्टी सङ्गठन बिग्रँदै गएको टिप्पणी गरे ।
शुरुमा बोलेका कोइरालाले पार्टी सभापतिले जबरजस्त रुपमा अधिवेशन सार्न खोजिरहेको बताए । ‘पार्टी विधानमा ४ वर्षे कार्यकाल र असामान्य अवस्थामा १ वर्ष थप्न सकिने भए पनि पार्टी सभापति त्यो १ वर्ष पनि कटाउने दाउमा छन्’, उनले भने ।
नेपाली काङ्ग्रेसको सबैभन्दा ठूलो निर्णय महासमितिको हुने र सभापतिले त्यो निर्णय समेत उल्ट्याइदिएर आन्तरिक लोकतन्त्र ध्वस्त बनाएको उनले आरोप लगाए ।
पार्टीभित्र बोल्न र आलोचना गर्न पाउने हक कुण्ठित हुँदै गएको भन्दै उनले बोलेको भरमा कारबाही गर्ने भए आफूलाई कारबाही गर्न अनुशासन समितिलाई चुनौती दिए ।
सरकार प्रमुख केपी शर्मा ओली र पार्टी सभापति दुवै बराबर निरङ्कुश बन्न खोजेको उनले बताए । ‘सरकार पत्रकारको बोल्ने र आलोचना गर्ने स्वतन्त्रतामाथि धावा बोलिरहेको छ’, उनले भने, ‘उता हाम्रा पार्टी सभापति पनि कार्यकर्ताले आलोचना गरे कारवाहीको धम्की दिइरहनुभएको छ ।’
पार्टीमा गुटबन्दी अन्त्य गर्ने विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले पार्टीमा गुटबन्दी भन्दा गिरोह मौलाएको बताए । काङ्ग्रेसजस्तो लोकतन्त्रको लागि लडेको पार्टीभित्र नै आन्तरिक लोकतन्त्र सखाप बन्दै गएको उनले टिप्पणी गरे । भातृसंस्था नेतृत्व विहीन बन्दै जाँदा काङ्ग्रेसको ‘मुभमेन्ट’ कमजोर बनेको उनले बताए ।
अर्का नेता सिटौलाले सरकारले पूर्ण प्रेस स्वन्त्रताको विरुद्धमा विधेयक तयार पारेको टिप्पणी गरे । ‘सरकारले गिरोहमार्फत् कर्मचारीदेखि न्यायाधीशसम्मलाई आफ्नो पक्षमा मात्र निर्णय लिन र काम गर्न बाध्य पारेको छ,’ उनले भने, ‘पत्रकारलाई सरकारको भजन मात्र गाउन बाध्य पार्ने काम भएको पाइयो ।’
काङ्ग्रेस पार्टीभित्र पनि त्यही अवस्था सिर्जना भएको उनले बताए । भातृसंस्थादेखि विभिन्न विभाग गठन गर्न नसकेर पार्टीलाई गतिहीन बनाएको उनको भनाइ छ । केन्द्रीय समिति भन्दा ठूलो महासमितिले गरेका निर्णयलाई लत्याएर पार्टी सभापतिले गलत गरिरहेको उनको टिप्पणी थियो ।