इटहरीः नेपाली काङ्ग्रेसका कार्यकर्ताले तोकिएको समयमा कार्यक्रममा नआउने नेताप्रति आक्रोश व्यक्त गरेका छन् । जागरण अभियानअन्तर्गत मोरङको सुन्दरहरैंचा–४ मा आयोजित कार्यक्रममा कार्यकर्ताहरूले आक्रोश पोखेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला कार्यक्रमस्थलमा ढिलो आएकोमा उनीहरू रुष्ट देखिएका हुन् । १ बजेको लागि तोकिएको कार्यक्रम उनकै कारण दुई घण्टा ढिलो शुरु भएको थियो ।
निर्धारित समयभन्दा १ घण्टा पछि उपस्थित भएका विशिष्ट अ

तिथि डाक्टर शेखर कोइराला र सिटौलालाई कार्यकर्ताले तपाईहरूले हामीलाई के सिकाउन खोजेको भन्दै प्रश्न गरेका थिए ।
कार्यकर्ता विवश श्रेष्ठले तपाईहरू नै कार्यक्रममा ढिला आउने अनि हामीले के सिक्ने भन्दै प्रश्न गरेका थिए । ‘भाषण र आसन ग्रहणको सीमा त तोकियो तर समयमा उपस्थित हुनुपर्छ भन्ने सीमा किन तोकिएन,’ उनले प्रश्न गरे, ‘तपाई नेताहरू नै कार्यक्रममा ढिलो आएपछि हामी कार्यकर्ताले के सिक्ने ?’
सर्वप्रथम गुनासो राखेका देवीप्रसाद डाँगीले नेताका कारण पार्टी ध्वस्त बन्दै गएको टिप्पणी गरे । काङ्ग्रेसले आफ्नो आदर्श बिर्सिएको भन्दै त्यसको सम्पूर्ण जस केन्द्रीय नेतृत्वले लिनुपर्ने उनले बताए । दुःख गर्ने कार्यकर्तामाथि अपमान भएको भन्दै उनले नेताको आशीर्वादका कारण पार्टी चलेको बताए ।

सोझा कार्यकर्ताले दुःख गरेर बचाएको पार्टी नेताहरूका कारण ध्वस्त हुँदै गएको उनले आरोप लगाए । कार्यक्रममा उपस्थित हुँदा समयको समेत ख्याल नहुने नेताले कार्यकर्तालाई गलत बाटो देखाइरहेको बताए ।
अर्का कार्यकर्ता विनोद बजगाईंले पनि नेताहरू समयमा नै उपस्थित नभएर कार्यकर्ताले त्यही सिक्दै गएको बताए । काङ्ग्रेस नेताहरूले कार्यकर्तालाई खेताला सम्झने प्रवृत्तिले समस्या परिरहेको आरोप उनले लगाए । तर कार्यकर्ताले उठाएको समय सीमाको प्रश्नको भने कुनै पनि नेताले उत्तर दिएनन् ।