इटहरी/ आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा । आजको दिनलाई रक्षाबन्धन पनि भनिन्छ ।
हिन्दूहरूको धार्मिक तथा सांस्कृतिक यसै पर्वको दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए भन्ने विश्वास गरिन्छ । त्यसैले यस दिनलाई वेदजयन्तीको रूपमा पनि चिनिन्छ ।
जनै पूर्णिमा नाम प्रचलित
आजको दिनलाई विभिन्न नामले चिने पनि नेपालभर यस दिनलाई जनै पूर्णिमा भनेर चिनिन्छ । तागाधारी पुरुषहरूले यस दिन नयाँ यज्ञोपवित (जनै) लगाउनुका साथै महिला तथा पुरुष दुवैले दायाँ हातमा मन्त्रोच्चारण गरिएको रङ्गीन डोरो बाँध्ने गर्छन् । जसलाई रक्षाबन्धन भनिन्छ ।
तराई क्षेत्रमा र विशेष गरी तराई मूलका मानिसले यस दिनलाई राखी बाँध्ने पर्वका रूपमा चिन्छन् । तराई क्षेत्रमा राखीको ठूलो महत्व छ । पछिल्लो समय तराई क्षेत्रमा बस्ने पहाडी मूलका मानिसले पनि राखी बाँध्न थालेका छन् ।
जनै पूर्णिमाको दिन मन्त्रेको जनै भण्डारण गरी आवश्यकताअनुसार वर्ष दिनसम्म लगाउने चलन रहेको छ ।
क्वाँटीको प्रचलन
यस दिनको अर्काे विशेषता भनेको क्वाँटी खाने पर्वका रूपमा चिनिनु पनि हो ।
९ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।
नेवार समुदायमा जनै पूर्णिमालाई गुन्हु पुन्हीका नामले चिनिन्छ । यस पूर्णिमाको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन नेवारी समुदायमा पाइन्छ ।