भोजपुर । नेपाली कांग्रेसले भोजपुरमा १ महिने जागरण अभियान शुरु गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा टोली खटाएर ८१ वटा वडामा पुग्ने लक्ष्यका साथ कांग्रेस गाउँ पसेको हो ।
अभियानका बारेमा जानकारी दिन बुधबार नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दमणी राईले नेकपाको सरकारले दुई तिहाइको दम्भमा जनताको पक्षमा काम नगरि अधिनायकवाद लाद्न थालेकोले जनतामाझ जानुपरेको बताए । ‘हामी सत्ता लडाउने खेलमा लागेका हैनौ, तर सरकार सबै जनताले अनुभुत गर्ने हुनुप¥यो’ सभापति राईले भने ।
अभियान अन्तरगत साल्पासिलिछो गाउँपालिकामा वीरबल राई, अरुण गाउँपालिकामा हेमन्त मुकारुङ्ग, पौवादुङ्मा गाउँपालिकामा बालकृष्ण राई, हतुवागढी गाउँपालिकामा उत्तम चापागाई, आमचोक गाउँपालिकामा बालकृष्ण थापा, रामप्रसादराई गाउँपालिकामा गोविन्द कार्की, टेम्केमैयुङ्ग गाउँपालिकामा विनोद बान्तवा, भोजपुर नगरपालिकामा कैलाशकुमार आले र षडानन्द नगरपालिकामा रेनुकुमारी राईलाई संयोजक तोकिएको छ । उनीहरुको नेतृत्वमा गाउँ तहमा कार्यकर्ता तथा जनतामाझ गएर लोकतन्त्रको रक्षाको लागि जनतालाई खबरदारी गरिने कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आलेले बताए ।
नेपाल तरुण दलका केन्द्रिय उपाध्यक्ष तथा अभियानका हतुवागढी गाउँपालिका संयोजक उत्तम चापागाईले खानेपानी, विजुली जस्ता दुरदराजका जनताका आधारभुत आवश्यकता पुरा गर्न नसकेको सरकारले पानी जहाज र हावाबाट विजुलीजस्ता कुरा निकालेर अल्मल्याउने काम गरेको टिप्पणी गरे । ‘सपनाको कुरा गरेर मात्र भएन जनताले नतिजा खोजेका छन्’ चापागाईले भने ।
नेपाली कांग्रेस पनि सम्वृद्धीकै पक्षमा रहेको भन्दै नेपाल विद्यार्थी संघका पूर्व कोषाध्यक्ष तथा महासमिति सदस्य विनोद बान्तवाले रचनात्मक प्रतिपक्षको भुमिकासहित सरकारले गरेको राम्रो कामको स्वागत र सहयोग गर्दै गलत कामप्रति खबरदारी गर्ने बताए ।




















