क्षमता भयो भने काठमाडौंबाहिर बसेर भए पनि केन्द्रीय तहका नेपाली चलचित्रमा आफ्नो अभिनयकला देखाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, प्रदेश नम्बर १ का चकलेटी हिरो माधव केसी ।

प्रदेश नम्बर १ को केन्द्रभाग इटहरीमा बसेर १५ वर्ष अघिबाट नेपाली चलचित्र उद्योगमा आफ्नो अभिनयमार्फत् योगादन दिइरहेका नायक केसीलाई जागिर, व्यवसायसँगै अभिनय क्षेत्रमा यतिबेला भ्याइनभ्याइ छ । प्रदेश नम्बर १ मा व्यस्त नायकका रूपमा उनी परिचित छन् ।
सबै खालका चरित्रमा अभिनय गर्न सक्ने क्षमता भएका नायक केसीले काठमाडौंबाहिर बसेर भए पनि धुम थ्री, चिनारी, जिन्दगी, जस्ट फर यु, मनमनै मन पराएँ, डन्ट ब्रेक माइ हर्ट लगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् ।
ती चलचित्रमा उनी कहिले नायक त कहिले सहनायक तथा कहिले खलनायकका रूपमा पनि आफूलाई उभ्याउन सफल भएका छन् । ३ दर्जन म्युजिक भिडियोमा पनि अभिनय गरेका उनी यतिबेला चलचित्रमा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।
चलचित्रले भन्दा पनि म्युजिक भिडियोले उनलाई अभिनय क्षेत्रमा स्थापित गराएकाले बढी समय म्युजिक भिडियोमा दिने गरेका छन् । केही भोजपुरी चलचित्रमा समेत अभिनय गरी अनुभव बटुलेका उनी २० वर्षअघि आफ्नो स्थायी घर इलामबाट गायक बन्ने ठूलो सपना बोकेर काठमाडौं छिरेका थिए । तर, सोचे अनुसार सङ्गीतमा प्रगति हुन नसकेपछि फर्किएर पशु चिकित्सा अध्ययनतर्फ लागे । फलस्वरूप उनी काठमाडौं बाहिरको मोडलिङ पर्यटकीय शहर धरानमा बसेर पशुचिकित्सकका रूपमा करिब ५ वर्षसम्म काम गरे ।
व्यवसायकै सिलसिलामा इटहरी झरेका उनलाई इटहरी आएपछि अभिनयको भूत सवार भयो । फलस्वरूप अभिनय गर्दै कलाकारितातर्फ लागेका केसीलाई आजसम्म पछाडि फर्कनुपरेको छैन ।

‘शुरुशुरुमा अलिक गाह्रो भयो’, उनी भन्छन्, ‘अभिनय नै गरेर आउने पारिश्रमिकले पालिन कठिन थियो । त्यही भएर अन्य पेशालाई पनि निरन्तरता दिएँ । र अहिले पनि दिइरहेको छु ।’

madhav kc & keki adhikari
विदेशी संस्थाको सहयोगमा इटहरीमा सञ्चालन भइरहेको एक सीपमूलक ज्ञान दिने संस्थामा कर्मचारीका रूपमा पनि कार्यरत छन् उनी । सङ्घर्ष गर्दै जाँदा सबै काम गर्न सजिलो हुने रहेछ भन्ने उनले बुझे । अहिले कलाकारिता, पशुचिकित्साको काम र जागिरका लागि आरामले समय म्यानेज गरिरहेको उनी बताउँछन् ।
नेपाली चलचित्र उद्योगमा स्थापित जल्दाबल्दा निर्देशक नवल नेपाल, चर्चित नायिका केकी अधिकारी, गायक प्रमोद खरेलसँग अभिनयको क्षेत्रमा काम गरेर आफूलाई पोख्त बनाएका केसीद्वारा अभिनित रामसाइँली चलचित्र प्रदर्शनको तयारीमा छ ।
नवल नेपालले निर्देशन गरेको बलबहादुर राजवंशीको स्वरमा सजिएको ‘हिजोसम्म तिमी मेरो.....’ बोलको गीतमा उनले गरेको अभिनयले युट्युबमा राम्रो चर्चा पाईरहेको छ । सो गीतको शब्द, सङ्गीत, स्वर, अभिनय लगायत प्राविधिक पक्षलाई दर्शकहरूले उत्कृष्ट भनेर कमेन्टसमेत गरेका छन् ।
प्रतिदिन युट्युबमा सो गीतका दर्शकहरू बढिरहेका छन् । धेरैजसो दृश्य कोशी नदी किनारमा कैद गरिएको छ । केसीको अपोजिटमा नवनायिका सुस्मिता श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
निकै चुजी नायकका रूपमा परिचित केसी जस्तो पायो त्यस्तो गीतमा अभिनय नगर्ने बताउँछन् । ‘म वर्षमा ३ वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्दिनँ । त्यो पनि गीतको मेकिङ अनिवार्य जानकारी लिन्छु,’ उनी भन्छन्, ‘अर्कोतर्फ केही म्यासेज छ कि छैन त्यो पनि हेर्छु । अनि म्युजिक भिडियो निर्माण गर्ने निर्देशकदेखि प्राविधिक टिम बुझेर मात्र ओके गर्ने गरेको छु ।’
उनले अभिनय गरेको रुद्र श्रेष्ठको निर्देशनमा निर्माण भएको ‘रातको अन्धकारमा ...’ बोलको गीतको म्युजिक भिडियोले पनि चर्चा बटुलेको छ । प्रमोद खरेलको स्वरले सजिएको शायद ‘म महलको भए...’ बोलको गीतमा केसीले गरेको अभिनयले पनि राम्रो प्रशंसा बटुल्न सफल भएको छ ।
नेपाली चलचित्र उद्योगमा धुम मच्चाउन सफल नायिका सञ्चिता लुइँटेलसँगै प्रदेश नम्बर १ बाट नायकका रूपमा केही साताअघि मात्र उनी सम्मानित भएका छन् । परिकला मिडिया प्रालिद्वारा सञ्चालित पूर्वको एक मात्र मनोरञ्जनात्मक अनलाइन न्युज पोर्टल डी थ्री अनलाइनको वार्षिक उत्सवमा लुइँटेलसँगै उनी पनि सम्मानित भएका हुन् । उनी नयाँ चलचित्र र म्युजिक भिडियोमा अभिनयको तयारी गरिरहेका छन् । त्यसका लागि शारीरिक व्यायाममा बिहान बेलुकाको समय खर्चिरहेको उनले बताए ।