इटहरी / म्युचुअल फन्डहरूको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाखमा बढेको छ । हाल सञ्चालनमा रहेका १३ वटै म्युचुअल फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य माथि गएको हो । वैशाख महिनामा पहिलो साता सेयर बजार बढेको प्रभाव म्युचुअल फन्डको प्रतिइकाइ खुद मूल्यमा देखिएको हो ।
म्युचुअल फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्यका साथै सूचीकृत सेयरमा लगानी पनि बढेको छ । एनएमबि सुलभ, इन्भेष्टमेन्ट फन्ड र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमबाहेक अन्य सबै फन्डले सेयर लगानी वृद्धि गरेका छन् । वैशाखमा सबैभन्दा धेरै प्रतिइकाइ खुद सम्पत्ति मूल्य एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको रहेको छ । यसको प्रतिइकाई खुद मूल्य १३ रुपैयाँ ८२ पैसा छ । तर यस फन्डको सेयर लगानी भने घटेर ४४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको पनि सेयर लगानी केही मात्रामा घटेको छ । यीबाहेक अन्य सबै फन्डले सूचीकृत सेयरमा पनि लगानी बिस्तार गरेका छन् । बजारमा नयाँ म्युचुअल फन्डहरू थपिने क्रम जारी छ ।
यसैगरी, केही म्युचुअल फन्डहरू परिपक्व पनि भइसकेका छन् । हालै मात्र नबिल ब्यालेन्स्ड फन्ड परिपक्व भएको छ । म्युचुअल फन्डहरूको उपस्थिति राम्रो भएमा पूँजी बजारले पनि गति लिन सक्ने सम्भावना रहन्छ । तर व्यवहारमा भने हाम्रा म्युचुअल फन्डहरूले पूँजी बजारमा खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्ने गरेको छ । सरकारले म्युचुअल फन्डहरूलाई थप क्रियाशील गराउन नयाँ योजना ल्याउन आवश्यक देखिएको छ । पूँजी बजारको दायरा र क्षेत्र वृद्धि गर्न नयाँ बजेट मार्फत हेज फन्ड, भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्ड लगायतलाई प्रवेश गराइने भएको छ ।