तस्बिरः लक्ष्मण थापा
धरानः किरात राई यायोख्खा सुनसरीले धरानमा साकेला उत्सव गर्ने भएको छ । यस वर्षको उँभौली पर्वलाई उत्सवको रूपमा मनाउन लागिएको यायोख्खाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार जेठ ४ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम गरी साकेला उत्सव मनाइने छ । यस वर्षको साकेलामा किरात प्रदेशको माग गर्दै कार्यक्रम आयोजना हुने कार्यक्रम प्रचार संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए ।
जेठ ४ गते धरान–१३ विजयपुरमा रहेको हाङ बुद्धिकर्ण दरबार क्षेत्रबाट शुरु हुने उत्सव १८ गते साकेला सिलीको प्रतियोगिता गरी समापन हुने यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईले जानकारी दिए ।
यायोख्खाले उँभौलीमा वार्षिक रूपमा नियमित कार्यक्रम गर्दै आएको छ । पछिल्ला वर्षमा साकेला नाच तथा कार्यक्रमहरूमा युवा पुस्ताको आकर्षण बढेको छ ।