चतराः सप्तकोशीमा २०७५ सालको शुरुवातदेखि व्यावसायिक जेट बोट सञ्चालन हुँदै आएको छ । जेट बोट सञ्चालक कम्पनी वराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नदीको अवरोध हटाइए पूर्वमा ताप्लेजुङ र पश्चिममा दोलालघाटसम्म जेट बोट चलाउन सक्ने बताएको छ ।
हाल कम्पनीले ३० सिटे जेट बोट चतरादेखि सिम्लेसम्मको १५ किलोमिटरको दूरीमा सञ्चालन गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘एक हिसाबले मुर्छित जल यातायातको सम्भावना हामीले सप्तकोशीमा जेट बोट चलाएर ब्युतायौँ । यसमा अझै लामो दूरीसम्म काम गर्न सकिन्छ ।’
श्रेष्ठका अनुसार सामान्यतः ५ फिट गहिरो र १५ फिट चौडा पानीमा १० सिटे जेट बोट सहजै चल्छन् । यस्ता जेट बोट सुनकोशी र तमोरमा चलाएर जलयात्रा गराउन सकिन्छ । पानीको गहिराइ र चौडाइ सबै स्थानमा पर्याप्त भए पनि ठाउँठाउँमा भएका ढिस्का र ढुङ्गाहरूका कारणले सिम्लेभन्दा माथि जेट बोट सञ्चालन हुन नसकेको हो । पहाडी क्षेत्रका नदीको माथिल्लो तटीय क्षेत्रसम्म पनि जेट बोट ंसञ्चालन गर्न सकिने भए पनि नदी क्षेत्रमा भएका ढुङ्गा र ढिस्काका कारण तत्काल जेट बोट सञ्चालन गर्न नसकिएको श्रेष्ठले बताए ।
उनले भने, ‘सरकारले ध्यान दिएर बाटो मर्मत गरेजस्तै ढिस्का र ढुङ्गाहरू हटाएको अवस्थामा तमोरमा ताप्लेजुङको दोभानसम्म, अरुणमा सङ्खुवासभाको तुम्लिङटारसम्म र सुनकोशीमा रामेछापको दोलालघाटसम्म सहजै मोटरबोट चल्छन् ।’
५० वर्ष अगाडि नै चतराबाट दोलालघाटसम्म प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीले पनि मोटरबोट चलाएको उदाहरण दिँदै श्रेष्ठले व्यवसायिक रूपमा जेट बोट सञ्चालन गर्न भने अवरोध हटाउनुपर्ने बताए ।
‘आज चतराबाट काठमाडौं पुग्न १० घन्टा लाग्छ । तर, दोलालघाटसम्म जेट बोट चले ४ घन्टा हाराहारीमा पुग्न सकिन्छ’, श्रेष्ठ भन्छन्, ‘खर्बाँै खर्चमा बन्ने सप्तकोशी उच्च बाँध र पानीजहाजबिना पनि केही अर्बकै मर्मतमा चतराबाट दोलालघाट, दोभान र तुम्लिङटारसम्म जेट बोटमा जान सकिन्छ ।’