इलामः प्रदेश १ का पर्यटन, वन, वातावरण तथा उद्योग मन्त्री जगदीशप्रसाद कुसियतले कर्मचारी अभावका कारण प्रदेश सरकारबाट अपेक्षाअनुसारको काम नभएको बताएका छन् ।

उनले उद्योग र पर्यटन मन्त्रालयमा आवश्यकताअनुसार कर्मचारी परिपूर्ति गरी प्रदेश नम्बर १ ले विकासमा फड्को मार्न नसकेको बताए । ‘भएका कर्मचारी समायोजनले कता–कता पु¥यायो । अहिले मन्त्रालयमा कर्मचारी नै छैनन्’, मन्त्री कुसियतले भने, ‘काम कसरी गर्ने ?’ उनले यस आर्थिक वर्षमा प्रदेश सरकारले २ सय करोड रुपैयाँको बजेट विनियोजन गरेर काम गर्दा पनि अपुग भएकाले आगामी आर्थिक वर्षमा उक्त बजेट बढाएर लगिने बताए ।

उनले भने ‘हामीले गुन्द्री र पिराबाट शुरु गरेको मन्त्रालयले धेरै काम गर्न सकेनाँै । अपुग ठाउँमा आगामी वर्ष मागअनुसारका काम गर्छौँ ।’ इलामको सूर्योदय नगरपालिका वडा नंं. ६ कन्याममा डि छयाप छेवाङ बौद्ध गुम्बको उद्घाटन गर्दै मन्त्री कुसियतले पर्यटकीय तथा धार्मिक क्षेत्र बढी रहेको प्रदेश १ को विकासका लागि प्रदेश सरकारबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गरिसकेकाले उक्त क्षेत्रको भौतिक पूर्वाधार, विकास निर्माणलगायतका विषयमा प्रदेश सरकारले विशेष ग्राहयता दिने उनले बताए । प्रदेश सरकार आगामी वर्षको बजेटमा साना मसिना योजना छोडेर ठूला योजनामा केन्द्रित हुनेमा उनको जोड थियो ।

प्रदेश सरकार अन्तर्गतका ७ वटा मन्त्रालयबाट ३ वटाका दरले योजना हाल्दा एउटा जिल्लामा २१ वटा ठूला योजना सञ्चालन गर्ने लक्ष्य रहेको मन्त्री कुसियतले बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्मा रमणले पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीले विकास सँगसँगै सेवासमेत बेच्न सक्ने बताए । उनले भने, ‘पर्यटन व्यवसायीले व्यवसाय वा सेवा गरेबापत मुनाफा कमाउनु प¥यो ।’

यस्तै, अर्का प्रदेश सांसद काजीमान कागतेले धर्म नभएको ठाउँमा शान्ति र विकास नहुने बताए । उनले भने, ‘जहाँ धर्ममा विश्वास गरिन्छ, त्यहाँ शान्ति र विकास फैलन्छ । त्यसैले विकास गर्दा दीर्घकालीन लक्ष्य राखेर काम गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले कन्याम पर्यटकको हब भइसकेकाले कन्यामलाई रात्रिकालीन पर्यटकीय गन्तव्य घोषणा गर्न माग गरिन् । कार्यक्रममा कन्याम र गुम्बाको विकासका लागि पहल गर्न माग गर्दै मन्त्री कुसियतलाई ज्ञापनपत्र पनि बुझाइएको थियो ।