विराटनगरः सिङ्गो गाउँ जोखिममा पार्ने गरी सञ्चालन भएका उर्लाबारी– १ का क्रसर सञ्चालकले पीडितलाई ज्यान मार्ने धम्की दिने गरेका छन् ।
क्रसरका कारण मानव स्वास्थ्य तथा वातावरण स्वास्थ्यमा गम्भीर असर पुुगेको भन्दै स्थानीयले विगत लामो समयदेखि रिले अनसन थालेका हुन् । एकै गाउँमा ५ ओटा क्रसर सञ्चालनमा ल्याइएपछि गाउँ त्रसित बनेको छ ।

क्रसर उद्योगबाट निस्कने धुलोले गाउँ पूरै ढाकिने गरेको छ भने त्यसले मानव, चौपाया र खेतबारीको अन्नबालीमा प्रत्यक्ष असर पुु¥याउने गरेको छ । चर्को ध्वनिले गाउँमा बसिनसक्नुु भएको भन्दै विद्यालय र बस्ती क्षेत्रमाथिको अत्याचार अन्त्य गर्न स्थानीयले आवाज उठाएका हुन् ।
गाउँको यस्तो असरबारे स्थानीय र प्रदेश सरकारलाई बारम्बार जानकारी गराए पनि सरकारी पक्षबाट कुनै सुनुवाइ नभएको पीडितको भनाइ छ । सरकारी पक्षले बेवास्ता गरेपछि क्रसर सञ्चालकको मनोबल बढेको र स्थानीयलाई ज्यान मार्ने धम्की आएको स्थानीय इन्दिरा दाहालको गुनासो छ । उनले क्रसर सञ्चालकहरूले गाउँमा गुुण्डा ल्याएर त्रसित वातावरण बनाउने गरेको बताइन् । ‘हामीलाई क्रसरको मेसिनमा हालेर काट्छुु, मार्छु भनेका छन् । कतिखेर कसले केही गर्ने हो कि ? हाम्रो जीउ ज्यानको सुरक्षा छैन ।’
उनले गाउँमा मापदण्डविपरीत स्थापना भएका क्रसरले नजिकका खोला पैनी थुनेपछि वर्षाको भेल सिधै मानव बस्तीमा छिर्ने भन्दै उचित सुनुवाइको माग गरेकी छिन् ।

दाहालले सङ्घीय सरकारले आफ्नो मागलाई गम्भीरताका साथ लिनुुपर्ने भन्दै सिङ्गो बस्ती बक्राहा खोलामा मिसिन पुुग्ने जोखिम बढेकाले सुरक्षाको माग राखेकी हुन् । ‘बगाउनुअघि सरकारले न्याय दिन्छ कि बगाइसकेपछि सरकारले खोज्छ ?’
अर्का स्थानीय कुमार खत्रीले व्यवसायीको ज्यान मार्ने धम्कीले त्रसित बनेको बताए । उनले पूर्वेली क्रसर उद्योगका सञ्चालक मध्येका एक गोविन्द भट्टराईले उर्लाबारी नगरपालिका परिसरमै हातपात गरेको बताए । प्रहरी प्रशासनसँग गुहार

‘आफूमाथि भएको ज्यादतीबारे प्रहरीलाई उजुरी गर्दा भट्टराईले उल्टै हामीलाई थर्काउँछन्’, उनले भने, ‘भट्टराईले तिमीहरूसँग २ सय होलान्, मसँग ४ सय मान्छे छन् भन्छन् । पुुलिसलाई औँलामै नचाउँछन् ।’
निरन्तर आन्दोलनमा रहेका सङ्घर्ष समितिका अध्यक्ष समरबहादुर राईले गाउँ पूरै आन्दोलित हुँदा समेत सरकारले न्याय नगरेको दुखेको पोखे । ‘आफूहरूलाई नसोधी गाउँमा कसरी क्रसर भित्रियो पत्तै भएन’, उनले भने, ‘नगरपालिकालाई सोध्दा हामीले होइन । माथिबाटै अनुमति दिएको हो भन्छन् । तर, अनुमति दिनुपर्ने मापदण्ड यी क्रसरले पूरा गरेनन् ।’

उनले मापदण्डविपरीत चलेका उद्योग हटाउन अनुरोध गर्दा ज्यान तलमाथि पर्ने चेतावनी आएको बताए । उनले यहाँ कति बेला कसलाई अप्ठ्यारोमा पार्छन् भन्ने टुङ्गो नभएको जानकारी दिए ।
क्रसर चलाउँदा आउने ठूलो ध्वनिले गाउँ कोलाहलमय हुने र त्यसले बिरामी, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रत्यक्ष असर पुग्ने राईले जानकारी दिए ।
‘हाम्रो चइन खोसिएको वर्ष बितिसक्यो’, उनले भने, ‘नबोलौँ भने बसाइँ जान सकिएन । बोलौँ ज्यान तलमाथि पर्ने डर ।’

ज्यान मार्ने धम्की दिएको छैनः सञ्चालक
यता, पूर्वेली क्रसर उद्योगका सञ्चालक गोविन्द भट्टराईले ज्यान मार्ने धम्की दिएको भनाइ भुटो आरोप मात्र भएको बताए । उनले गाउँमा उद्योग लगाएको र त्यहीँ मिलेर बस्नुपर्ने भन्दै आफूले मान्छे मार्ने धम्की नदिएको जिकिर गरे । ‘हामीले गाउँलेलाई सकेको सहयोग गरेकै छौँ । उहाँहरूले अलिक बढी मिडियाबाजीमात्र गर्नुभएको हो, अरु केही होइन,’ उनले भने ।