बेलबारीः पूर्वी तथा उत्तरी मोरङमा कार्यरत पत्रकारले नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक खारेज गर्न माग गर्दै आफ्ना सञ्चार सामग्री सडकमै राखेर विरोध गरेका छन् ।

सञ्चार क्लब उर्लाबारीमा भेला भएका पत्रकारले उर्लाबारी बजारको सडकमा विरोध प्रदर्शन गरेका हुन् । हातमा कालो पट्टी बाँधेर ल्यापटप, क्यामरा, डटपेन, डायरी, अडियो रेकर्डरलगायतका सामग्री सडकमै राखेर विधेयकको विरोध गरिएको हो ।

विधेयकको नाममा सरकार सञ्चार क्षेत्रप्रति कठोर बनेको र प्रेस स्वतन्त्रता निमोठ्न खोजेको भन्दै पत्रकार आन्दोलित भएका हुन् । यसअघि पूर्वी तथा उत्तरी मोरङका पत्रकार पथरीमा भेला भएर विधेयक खारेजीको माग गर्दै आफ्नो मोबाइलबाट सङ्घीय मामिला तथा कानुन मन्त्री भानुभक्त ढकाललाई एसएमएस पठाएका थिए ।