धनकुटाः सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै धनकुटाका सञ्चारकर्मी आन्दोलित बनेका छन् ।
जिल्लामा क्रियाशील दर्जन भन्दा बढी सञ्चारकर्मीले धनकुटा–७ चुवाको बोट रहेको चोकमा हातमा कालो पट्टी बाँधेर सञ्चार सामाग्री सडकमा प्रदर्शन गर्दै विरोध गरेका थिए । नेपाल पत्रकार महासङ्घको कार्यक्रम अन्तर्गत विधेयकको विरोधमा सञ्चारकर्मीले करीब १ घण्टा आफ्ना सञ्चार साधन क्यामेरा, टिपोट डायरी, डटपेन, क्यामेरा स्ट्यान्ड, ल्यापटप लगायत प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा स्थानीय बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको समर्थन रहेको थियो । प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ धनकुटाका पूर्व अध्यक्ष विजयसन्तोषी राईले सरकारले ल्याएको विधेयक फिर्ता लिएर सरोकारवालासँंग छलफल गरी विधेयक प्रस्तुत गर्न सुझाव दिए ।
पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले सरकारले ल्याएको विधेयक फिर्ता नभएसम्म पत्रकारले आन्दोलन जारी राख्ने धारणा राखेका थिए ।