भोजपुरः सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुर अगाडि आज पत्रकारहरू धर्नामा बसेका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सो विधेयकको विरोधमा नेपाल पत्रकार महासङ्घले देशव्यापी आह्वान गरेको सङ्घर्षका कार्यक्रममा भोजपुर शाखाले ऐक्यबद्धता जनाएको हो । त्यसै क्रममा समाचार सङ्कलन, लेखन तथा प्रशारणमा प्रयोग हुने सञ्चार सामग्री प्रदर्शन गर्दै पत्रकारले धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासङ्घ भोजपुरका सभापति श्यामकृष्ण दाहालले पत्रकारिता जगतलाई अङ्कुश लगाउने र तर्साउने गरी कानुन बनाएर सरकारले लोकतन्त्रको मजाक उडाइरहेको बताए ।
प्रेस युनियनका जिल्ला अध्यक्ष अर्जुन बस्नेत, प्रेस सङ्गठनका केन्द्रीय सदस्य एक्सन राईलगायतले जरिवाना तथा क्षतिपूर्तिसहितको कानुन बनाएर प्रेस स्वतन्त्रतामा घोषित सेन्सर लगाउन खोजिएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरे ।