मेचीनगरः मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको मेची पुलको पिल्लर राख्न खनेको खाल्डोमा रहेको पानीमा डुबेर आज १ जना बालकको मृत्यु भएको छ ।

मेचीनगर– ६ स्थित नेपालतर्फ खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा स्थानीय शेखराज गेलालको छोरा ८ वर्षीय रुपेश गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ५ बजेतिर बालकलाई पानीमा तैरिइरहेको अवस्थामा देखेपछि स्थानीयले पानीबाट बाहिर निकालेका थिए । प्रहरी घटनास्थल पुग्दा रुपेशको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनी नुहाउनका लागि त्यहाँ पुगेको हुन सक्ने प्रहरीको अशंका छ । उनले लुगा फुकालेर डिलमै राखेका कारण उनको पौडी खेल्ने क्रममा मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

रुपेश स्थानीय पशुपति माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको स्थानीयले बताए । घटनापछि त्यहाँ पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।