उर्लाबारीः कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान केन्द्रीय समिति उर्लाबारीले आधा दर्जन बढीलाई सम्मान गरेको छ । कुलपूजा गोठधुपको अवसरमा शनिबार आयोजित तेस्रो बार्षिक साधारणसभामा ९ जना व्यक्तिलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानको भवन निर्माणमा १ लाख बढी सहयोग गर्ने ललित अधिकारी र लक्ष्मी अधिकारीलाई विशेष सम्मान गरिएको छ । जग्गादाताहरू कोषराज अधिकारी, विमला अधिकारी, अर्जुन अधिकारी र शोभा अधिकारीलाई पनि सम्मान गरिएको छ । त्यस्तै, नगद सहयोग गर्ने शान्तिराम अधिकारी, लक्ष्मीप्रसाद अधिकारी र भीमप्रसाद अधिकारीलाई पनि सम्मानित गरिएको प्रतिष्ठानका सचिव खगेन्द्र अधिकारीले जानकारी दिए ।
साधारणसभामा कोषाध्यक्ष जयप्रसाद अधिकारीले करीब ८ लाख बराबरको आयव्यय प्रस्तुत गरेका थिए । उर्लाबारी–४ मा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिको तीन कोठे भवन अहिले निर्माणाधीन छ । भवन निर्माणस्थलमा गोठधुप पनि आयोजना गरिएको थियो । कार्यक्रममा ३ सय बढी कश्यपगोत्रीय अधिकारीको सहभागिता रहेको अध्यक्ष गोविन्द अधिकारीले बताए ।