काँकरभिट्टाः झापाको मेचीनगर– ६ स्थित काँकरभिट्टामा नवनिर्मित पर्यटक सहायता कक्षको उद्घाटन भएको छ । प्रदेश नम्बर १ अन्तर्गतको उद्योग, पर्यटन वन, तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले सो कक्षको उद्घाटन गरेका हुन् ।

उद्घाटनको क्रममा बोल्दै उनले सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले पर्यटक सहायता कक्ष निर्माण भएपछि यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई निकै सेवा पुग्ने विश्वास व्यक्त गरे । यस्ता कक्षले पर्यटकलाई फाइदा पुग्ने भएकाले पनि पर्यटकको रोजाइमा समेत यस्ता प्रवेशद्वार पर्ने उनको भनाइ थियो ।

सचिव ढुङ्गानाले भौतिक पूर्वाधारमात्र भएर नपुग्ने हुनाले प्रत्यक्ष रूपमा पर्यटक लाभान्वित हुनुपर्ने भन्दैं कर्मचारीको बानी व्यवहार पर्यटकमैत्री हुनुपर्ने बताए । उनीहरूलाई आधारभूत तालीमको व्यवस्था, भाषाको ज्ञान तथा नेपालका हरेक क्षेत्रका पर्यटकीय स्थलका बारेमा समेत ज्ञान हुन जरुरी रहेको उनले औँल्याए । सहायता कक्षको राम्रो र उचित व्यवस्थापन, सही सूचना प्रवाह गर्न सक्ने जनशक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो ।

स्थानीय सरकारका हैसियतले नगरभित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थलको पहिचान गरी विकास र प्रवद्र्धनमा ध्यान दिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा करीव ३ लाख रुपैयाँको लागतमा पर्यटन तथा यातायात व्यवस्थापन समितिले छोटै समयमा उक्त कक्ष निर्माण गरेको हो । बैशाख १३ मा नगरपालिका र समितिबीच सहायता कक्ष निर्माणको लागि सम्झौता भएको थियो । सो सहायता कक्षमा पर्यटन कार्यालयका कर्मचारी, पर्यटक प्रहरीलगायत बस्नेछन् ।