झापाः चालु आर्थिक वर्षको १० महिनामा पूर्वी नाका भएर करीब १० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालका धार्मिक, ऐतिहासीक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि ती विदेशी पर्यटक पूर्वी नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।
अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख महिनाको अन्त्यसम्मको अवधिमा नेपाल प्रवेश गरेका ९ हजार ७ सय ६६ पर्यटकमध्ये केही सार्क राष्ट्रका पर्यटक छन् । सोबापत कार्यालयले ८५ लाख १४ हजार ४ सय ६७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नेपालमा सिजन शुरु भएसँगै नेपालका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड बढ्ने गरेको छ । सोही अवधिमा यो नाका भएर ८ हजार ८ सय ९० पर्यटक बाहिरिएका छन् ।
प्रदेश नम्बर १ अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्ने बताउँछन् । काँकरभिट्टा नाका प्रदेश नम्बर १ को पर्यटक भित्रिने मुख्य नाका भएका कारण पनि हरेक देशका पर्यटकलाई फाइदा पुग्ने र पर्यटकलाई उनीहरूको अपेक्षाअनुसार सेवा र सुविधा प्रदान गर्न सके विश्वभर सकरात्मक सन्देश जाने उनको भनाइ छ ।
सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेकाले यसलाई सहयोग पु¥याउन सबै लाग्नुपर्ने सरकोकारवालाको भनाइ छ । यो नाका भएर नेपाल भित्रिने पर्यटकका लागि सहज होस् भने मेचीनगर नगरपालिकाले पर्यटक सहायता कक्ष स्थापना गरेको नगरप्रमुख विमल आचार्यको भनाइ छ । स्थानीय सरकारका हैसियतले नगरभित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थलको पहिचान गरी विकास र प्रवद्र्धनमा ध्यान दिने उनको भनाइ छ ।
नेपाल आएका धेरै पर्यटकहरूको रोजाइमा पोखरा, काठमाडौं, चितवन, लुम्बिनीलगायतका ठाउँमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पर्ने गरेको अध्यगमन कार्यालय प्रमुख जनक कोइरालाले बताए । नेपाल प्रवेश गरेका पर्यटकहरूमध्ये धेरैको रोजाइमा रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज र मुक्तिनाथ पर्ने गरेको ट्राभल सङ्घ झापाका अध्यक्ष निरबहादुर कार्की ‘नेत्र’ बताउँछन् । उनका अनुसार पूर्वी नाका भएर नेपाल भित्रिएका कुल पर्यटकमध्ये ७० देखि ८५ प्रतिशत लाङटाङ राष्ट्रिय निकुञ्ज र मुक्तिनाथ पुग्ने गरेका छन् ।
नेपालमा विदेशी पर्यटक आउने क्रम शुरु भएपछि स्थानीय व्यवसायीको आर्थिक कारोबारमा समेत वृद्धि भएको छ । अध्यागमन कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिसा) जारी गरेबापत ८५ लाख १४ हजार ४ सय ६७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले दिएको जानकारीअनुसार अध्यागमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे बापत युएसए २५ डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि १ सय डलर लिने गरेको जनाएको छ ।