झापाः इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सोमबार हजारौँ रुपैयाँ मूल्यबराबरको घरेलु मदिरा नष्ट गरेको छ । बिनाइजाजत सञ्चालनमा रहेका मदिरा पसल तथा गैरकानुनी रूपमा नक्कली रक्सीको कारोबार गर्नेबाट प्रहरीले जिल्लाका अलगअलग स्थानबाट विभिन्न समयमा बरामद गरेको मदिरा नष्ट गरेको हो ।

१ सय ५० लिटर मदिरा सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखको रोहवरमा कार्यालय परिसरमा नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिए ।

सरकारले गैरकानुनी रूपमा मदिराको बेचबिखनमा रोक लगाए पनि जिल्लाका ग्रामीण क्षेत्रमा मदिरा तयार गरी लुकाइछिपाई भारतीय बजार लैजाने क्रम रोकिएको छैन । धेरै कारोबारीले घरमा बनाइएका तथा नक्कली रक्सीमा अन्तःशुल्कको स्टिकर टाँस गरी अवैध धन्दा गरिरहेको प्रहरीले आशङ्का गरेको छ । मेचीनगरको खयरडाँगी, चारआली तथा भद्रपुर, शनिश्चरे, सुरुङ्गा दमकलगायतका क्षेत्रबाट सशस्त्र तथा नेपाल प्रहरीले त्यस्ता मदिरा नियन्त्रणमा लिने गरेको जनाएको छ ।