धरानः करोडाैं रुपैयाँ वैदेशिक सहयोगमा निर्माण गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एकेडेमिक भवन जीर्ण बनेको छ । भवन निर्माणमा लापरवाही हुँदा पनि तत्कालीन प्रतिष्ठान व्यवस्थापनले ठेकेदारलाई कडाइ नगर्दा भवन जीर्ण बनेको हो ।

प्रदेशपाेर्टललाई प्राप्त गोप्य कागजातअनुसार भवन हस्तान्तरण अघि नै निर्माणमा लापरवाही भएको प्रतिष्ठान व्यवस्थापनलाई थाहा थियो । तर, ठेकेदार लामा कन्स्ट्रक्सन र परामर्शदाता कम्पनी बिल्डिङ डिजाइन अथोरिटी (बिडिए) सँगको मिलेमतोमा तत्कालीन प्रतिष्ठान व्यवस्थापनले जीर्ण भवनलाई मर्मत सुधार नगराई जिम्मा लिएको पाइएको हो ।

ठेकेदारले ४ वर्षअघि नै मर्मत गर्ने लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्रतिबद्धता पूरा गरेको छैन । जसले गर्दा करोडौंको सहयोगमा बनेको एकेडेमिक भवनको अवस्था दयनीय बनेको छ । सो भवन पूर्वउपकुलपति डा.बीपी दासको पालामा बनेको हो । भारतीय दूतावासले करिब १६ करोड लागतमा २ वटा ब्लक भएको एकेडेमिक भवन बनाइदिएको थियो । तर, भवन बनाउँदा नै लापरवाहीले जीर्ण बनेको थियो । एकेडेमिक ब्लक ए को कुनै प्रयोग भएको छैन भने ब्लक बी मा एमबीबीएस कक्षा सञ्चालन हुन्छ । तर, दुवै ब्लकका कोठामा पानी चुहिएर, फ्लस सिलिङ भत्किएर भौतिक संरचना लथालिङ्ग अवस्थामा छन् ।

पढ्दापढ्दै पानी चुहिँदा विद्यार्थी भागाभाग गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । सो भवन हस्तान्तरण गर्ने बेला सन् २०१३, डिसेम्बर २६ मा कोअर्डिनेशन कमिटीको बैठक बसेको थियो । सो बैठकमा एकेडेमिक भवन निर्माण सम्पन्न भएर पनि २८ वटा विभिन्न त्रुटि, खराबी रहेको लिखित प्रतिवेदन पेश गरिएको थियो । ती खराबी सुधार नगरी नै भवन हस्तान्तरण गर्ने निर्णय बैठकमा भएको थियो ।

बैठकले ठेकेदारलाई २ महिनाभित्र भवनको मर्मत गर्ने लिखित सहमति गराए पनि ४ वर्ष बितिसक्दा पनि ठेकेदारले अटेर गरेर बसिरहेको खुलेको छ । त्यतिबेला नै भवन हस्तान्तरण नगरी पहिला ठेकेदारलाई मर्मत गराउनुपर्ने र मात्र जिम्मा लिनुपर्ने भनिए पनि सबै पक्षले ठेकेदारलाई बचाउने खेलमा लाग्दा भवन जीर्ण बनेको प्रतिष्ठान उच्च स्रोतले जनाएको छ ।

‘ठेकेदार, कन्सल्टेन्टले त आफूलाई बचाउने नै भए, बीपीका पदाधिकारीले त्यतिबेला कडा कुरा गर्नुपथ्र्यो । यस्तो जीर्ण भवन कसरी जिम्मा लिने भन्नुपथ्र्यो, तर सबै ठेकेदारकै पक्षमा हुँदा यो अवस्था भएको हो,’ स्रोतले भन्यो, ‘एउटा, दुईटा खराबी भएमात्र हुन्थ्यो, २८ वटा छ । कसरी जिम्मा लिएको होला ?’

प्रदेश पाेर्टललाइ प्राप्त भएको रिपोर्टमा अनुगमन समितिले भवनको एसी कनेक्सनको काम पूरा नभएको, छतको सतहको लेभल राम्रो नभएको र लिकेज भएको, आल्मुनियम र ग्यास्केटले आफ्नो ठाउँ छोडेको, मुख्य भवनमा नै चिरा देखिएको र विद्युतको काम पूर्ण रूपमा नभएको, फल्स सिलिङ बिग्रिएको, छत पनि चर्किएको, प्लस्टरको काम लापरवाही भएको जस्ता २८ वटा गम्भीर लापरवाही भएको आैंल्याएको छ ।

पूर्वउपकुलपति दासले आफ्नो कार्यकालमा जीर्ण एकेडेमिक भवन मर्मत सुधार गर्न कुनै चासो दिएनन् । ठेकेदारको बचाउमा लागेका उनले उल्टै ठेकेदारसँग मिलेर पानी चुहिन नदिने भन्दै ५० लाखको इपिडिएम लगाएको पनि खुलेको छ । ठेकेदारबाट नै मर्मत गराउनुपर्ने काममा उनले प्रतिष्ठानको ५० लाख रुपैया खर्चिएर अनियमितता गरेको पनि पाइएको छ ।

‘त्यो पैसा प्रतिष्ठानले दिनुपर्ने नै होइन, पहिल्यै केके आवश्यक पर्छ, पर्दैन भनेर तय हुन्छ । काम राम्रो नगर्दा ठेकेदारले नै मर्मत गराउने हो,’ प्रतिष्ठान स्रोतले भन्यो । प्रतिष्ठानका उपकुलपति डा.आर.के. रौनियारले एकेडेमिक भवन जीर्ण भएकाले मर्मतको पहल भइरहेको बताए । ठेकेदारले नै बनाउनुपर्ने भए पनि बनाउन नआएका कारण धरौटीबाट रकम कट्टा हुने गरी प्रतिष्ठान आफैँले बनाउन लागेको उनले बताए । ‘पहिलाको उपकुलपतिले जिम्मा लिएको भवन हो । अहिले ज्यादै जीर्ण भएको छ । ठेकदारको धरौटीबाट बनाउँछौं,’ उनले भने ।