इटहरीः सार्वजनिक जग्गा चर्चेर विद्यालय क्षेत्रका पूर्वाधार निर्माण गरेको भन्दै तत्काल खाली गर्न निर्देशन दिएको इटहरी नगरपालिकासँग विद्यालय पक्ष मिल्न तयार रहेकाे छ । थप २ दिन माग्दै स्कुल पक्षले मिल्ने जानकारी दिएकाे छ  । इटहरी– ९ मा अवस्थित डीभीएम (नेपाल दयानन्द वैदिक मिसन) स्कुलको बारेमा आइतबार पत्रकार सम्मेलन गर्दै मेयर द्वारिकलाल चौधरीले सोमबार बिहान ६ बजे आफैँ डोजर लिएर जाने अड्डी कसेका थिए ।

उनले विद्यालयलले जबरजस्ती गरेको भन्दै विद्यार्थीको भविष्य बिग्रिए त्यसको जिम्मेवार स्वयम् विद्यालयको व्यवस्थापन पक्षले लिनुपर्ने तर्क गरेका थिए । आइतबार ४ बजे मेयरको कार्यकक्षमा भएको छलफलमा विद्यालय पक्षसँग वार्ता मिलेको थिएन । विभिन्न विकल्प दिएका मेयरले आफू हदैसम्म लचिलो रूपमा प्रस्तुत हुँदा पनि नगरपालिका र मेयरलाई लाञ्छना लगाउने क्रम नरोकिएको भन्दै उनी आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

पत्रकार सम्मेलनपश्चात् मेयरका पूर्व शिक्षक समेत रहेका विद्यालय सञ्चालक मध्येका एक ध्रब सुब्बाले थप १५ दिनको समय माग गरेका थिए । मेयरले इन्कार गरेपछि साता दिनको लागि मागिएको समय बल्ल २ दिनको समय दिएर टुङ्गिएको थियो ।

२ दिन समय थप गरिएको बारे जानकारी दिँदै सुब्बाले  प्रदेशपाेर्टलसँग भने, ‘हाम्रो टिममा सल्लाह गर्न यो समय मागिएको थियो । हामी मेयरले दिएको विकल्पमा जान तयार छौँ ।’ उनले आफूहरू कानुनी रूपले तल परेको स्वीकारे । ‘कानुनी आधार कमजोर हुँदा नगरपालिकाले राखेको प्रस्तावलाई इन्कार गर्न नसकिएको हो,’ सुब्बाले भने ।

उनले कुन विकल्पमा जाने भन्ने खुलाएनन् । शेयर सदस्यहरुसँग छलफल जारी रहेको भन्दै मेयरले दिएका चार विकल्पमध्ये कुनै एकमा जाने भन्ने सबैको राय आएको उनले स्पष्ट पारे । मेयर चौधरीले जग्गा सट्टापट्टा गर्ने, अर्को विकल्प नहुञ्जेल विद्यालयले नगरपालिकालाई भाडा दिने, बनेको संरचनाको मूल्याङ्कन गरी नगरपालिकालाई दिने र त्यसको रकम किस्ताबन्दीमा नगरपालिकाले तिर्ने, कुनै विकल्प नमाने जबरजस्ती ताला लगाइदिने चेतावनी दिएका थिए ।

सुब्बाले नेपालभर जग्गा विवाद रहेको तर्क गरे । उनले ४० वर्षदेखि भोगचलन भएको जग्गा उपयोग गरेको जानकारी दिँदै गलत मनसाय नभएर पवित्र उद्देश्यले विद्यालय खोलिएको तर्क गरे ।

उनले ४४ जना शेयर सदस्य रहेको विद्यालयले आगामी दिनमा विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे योजना बनाएर जाने बताए । जग्गा विवाद आए पनि विद्यालय शिक्षाको गुणस्तरलाई कमजोर बनाउन नदिने भन्दै अभिभावकलाई ढुक्क हुन उनले आश्वास्त पारे ।

नगरपालिकाले भने उक्त विद्यालयले ३ बिघा ३ कठ्ठा ऐलानी जग्गामा पक्की संरचना बनाएर ओगटेको भन्दै खाली गराउन पटक पटक पत्राचार गरेको छ । विद्यालय प्रशासनले अटेर गरेपछि नगरपालिकाले गत साल मंसिर २० गते उक्त विद्यालय क्षेत्रभित्रको जमिनमा जनता पार्क बनाउने गरी शिलान्यास पनि गरिसकेको छ ।

पार्कको ठेक्का प्रक्रिया सकिए पनि संरचना बनाउन बाधा उत्पन्न गराइएको नगरपालिकाले बताउँदै आएको छ । मेयर चौधरीले नगरपालिकालाई पार्क बनाउने ‘भूत सवार भएको’ भन्दै कुनै पनि हालतमा जनता पार्क बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।