झापाः समुदाय– प्रहरी साझेदारी अभियान अन्तर्गत स्कुल सम्पर्क कार्यक्रम सोमबार सम्पन्न भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मुख्य नारासहित कार्यक्रम आयोजना गरिएको थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेची सामुदायिक प्रहरी सेवा केन्द्रसँग सहकार्य गरेर झापाको मेचीनगरस्थित नर्थ प्वाइन्ट अङ्ग्रेजी माविका विद्यार्थीलाई लागूऔषध नियन्त्रण तथा दुव्र्यसनसम्बन्धी जनचेतनासहित साइबर अपराध र ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाको उपस्थितिमा भएको कार्यक्रममा प्रहरी निरीक्षक सुनिल धाँजूले लागूऔषधका कारण समाजमा विभिन्न आपराधिक गतिविधि हुने भएकाले त्यसलाई कम गर्न पनि हरेक क्षेत्र सचेत भएर लाग्नुपर्ने र यसमा विद्यार्थीको विशेष भूमिका रहने बताए ।
उनले लागूऔषध तथा मादक पदार्थको दुव्र्यसनबाट बच्ने उपाय, यसका असर तथा कानुनी परिणामलगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए । लागूऔषधले दुव्र्यसनी, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा ठूलो असर पार्ने उनले बताए । व्यक्तिको चेतनामा कमी तथा भ्रम उत्पन्न गराउने, स्मरणशक्तिमा कमी, हातखुट्टा झमझमाउने, आँखाको देख्ने शक्रिमा कमी आउने समस्या देखा पर्ने उनको भनाइ थियो ।
त्यस्तै, फोक्सो, कलेजो, पेट मृगौला तथा प्रजनन प्रणालीमा क्षति, विभिन्न प्रकारका सरुवा रोगको सङ्क्रमण तथा आर्थिक, सामाजिक र पारिवारिक विचलन लागूऔषध दुव्र्यसनका असर रहेको उनले बताए ।
प्रहरी निरीक्षक धाँजूले लागूऔषधसम्बन्धी दण्ड सजायका बारेमा जानकारीसमेत गराएका थिए । लागूऔषधको मात्रा र प्रयोजन अनुसार ३ महिनादेखि जन्मकैदसम्म तथा ३ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वा दुवै पनि सजाय हुन सक्ने उनले बताए ।
अस्थायी ट्राफिक प्रहरी चेकपोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायब निरीक्षक कालिदास रेग्मीले सडक दुर्घटनाको कारण, सडक सुरक्षा, ट्राफिक नियम तथा चिह्नको बारेमा सहभागी विद्यार्थीलाई जानकारी गराएका थिए ।
अधिकांश दुघर्टना मानिसका कारण हुने भएकाले बाटो काट्दा अपनाउनुपर्ने सावधानी, तथा जेब्राक्रसलगायतका बारेमा उनले प्रशिक्षण दिएका थिए । मोटरसाइकल चलाउँदा अनियवार्य व्यवस्थित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने, साना वा ठूला सवारी चलाउँदा चालकले अनिवार्य सिट बेल्टको प्रयोग गर्नुपर्ने उनले जानकारी गराएका थिए ।