भोजपुरः प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कम्युनिष्टहरूको मूल उद्देश्य अन्तिममा समाजवाद र साम्यवाद नै भएको बताएका छन् । सरकारले यो कार्यकाल राम्रो काम गरेर देखाउने हो भने अबको ५० वर्ष कम्युनिष्ट नै सत्तामा हुने मन्त्री घिमिरेको भनाइ छ ।

जनप्रतिनिधि स्वार्थी बन्न थालेको भन्दै जनताको हितमा काम गर्न उनले आग्रह गरे । पार्टीमा लामो समयसम्म छाएको अन्योलताले उनीहरू लगामबिनाको घोडा भएको उनको भनाइ थियो ।

भोजपुरमा नेकपाका कार्यकर्ताहरुसँग भएको भेटघाटको क्रममा मन्त्री घिमिरेले चुनाव जितेर जानेहरूमा स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई बेलैमा सच्याउन जरुरी रहेको टिप्पणी गरेका छन् ।

पार्टी एकता टुङ्गिइसकेकाले हिजो को कहाँबाट आयो नभनी एउटै धार भएर नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा उनले जोड दिए । सरकारको कामबाट काङ्ग्रेस आत्तिएको टिप्पणी गर्दै उनले भने, ‘तलदेखि माथिसम्म जताततै नेकपाको वर्चस्व देखेर काङ्ग्रेसमा कुण्ठा पलाएको छ । हामीले गफले नभई कामले जवाफ दिन सक्नुपर्छ ।’

कार्यक्रममा नेकपाका सचिव विमल खड्काले पार्टी एकीकरणले पूर्णता पाइसकेकाले अब गाउँगाउँसम्म जनतामाझ अभियान लिएर जानुपर्ने बताएका छन् । नेकपाका अर्का युवा नेता शरणकुमार राईले जनप्रतिनिधिहरू र पार्टीबीच निरन्तर समन्वय र सल्लाह गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।