इटहरीः इटहरी स्थानीय सरकार र इटहरी–९ को नेपाल दयानन्द वैदिक मिसन (डीभीएम) ग्लोबल स्कुलबीचको विवादका बारेमा विज्ञप्ति जारी गर्दै इटहरी प्याब्सनले आफ्नो धारणा सार्वजनिक गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) इटहरी नगर कार्यसमितिले विद्यार्थीले भयमुक्त भएर अध्ययन गर्न पाउनुपर्ने बताएको छ ।
अध्यक्ष सुवर्णबहादुर थापाको हस्ताक्षरमा जारी विज्ञप्तिमा विद्यालय शान्ति क्षेत्र भएको भन्दै समस्या समाधान गर्न आह्वान गरिएको छ । ‘शिक्षाको विकास नगरको विकास हो अनि स्थानीय सरकार शिक्षा क्षेत्रको संरक्षक र प्रवद्र्धक हो’, मङ्गलबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।
विद्यालय र स्थानीय सरकारबीच देखिएको असमझदारीलाई वार्ताकै माध्यमबाट समाधान गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ । ‘अबोध बालबालिकाले भयमुक्त भई अध्ययन गर्ने वातावरण निर्माणको लागि संयमताका साथ लागि पर्न सरोकारवाला दुवै पक्षलाइ हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
डीभीएम स्कुलले सरकारी जग्गा मिचेर संरचना बनाएको र सोही क्षेत्रमा निर्माण गर्न लागिएको जनता पार्क बनाउन स्कुलले अवरोध गरेको भन्दै मेयर द्वारिकलाल चौधरीले सोमबार बिहान डोजर लगाउने बताएका थिए । आइतबार पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले यस्तो बताएका थिए । ६ गते सोमबार बिहान ६ बजे डोजर लगाउने बताएका मेयरले डोजर भने लगाएनन् । साढे तीन बिघाभन्दा धेरै जग्गा स्कुलले कब्जा गरेको भन्दै मेयर चौधरीले त्यो खाली गरेर जनता पार्क बनाउन स्कुललाई आग्रह गरेको बताएका छन ।
६ गते डोजर लगाउने भनेका मेयरले ६ गते बिहान थप २ दिनको समय दिएको बताएका थिए । स्कुल र स्थानीय सरकारबीचमा विभिन्न चार विकल्पमध्ये एउटा विकल्पमा सहमति हुने तयारी भएको विद्यालयका सञ्चालक ध्रुव सुब्बाले बताएका छन् ।
मेयर चौधरीले स्कुल बनेको जग्गा सट्टाभर्ना गर्ने, स्कुलको संरचनाको लागत स्टिमेट गरेर स्थानीय सरकारले किस्तामा पैसा दिने, विद्यालयले सार्वजनिक जग्गामा विद्यालय भवन बनाएकोमा नगरपालिकालाई भाडा तिर्ने वा सार्वजनिक जग्गमा बनेका स्थायी संरचना भत्काएर जनता पार्क बनाउने जस्ता विभिन्न चार विकल्प मेयरले दिएका छन् ।