पाँचथरः गत राति पाँचथरको मिक्लाजुङमा ९ जनाको हत्या भयो । सो हत्यापछि हत्याराको खोजीमा प्रहरी जुटिरहेको समयमा घटनास्थलभन्दा ३० किलोमिटर टाढा १ जना व्यक्ति झुण्डिएको अवस्थामा फेला परे ।
मिक्लाजुङ– ८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रविले जनाएको छ । माखिमको कपडामा रगत लतपतिएको भेटिएको हुनाले हत्या उनैले गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको स्थानीयको भनाइ छ ।
मानबहादुरको श्रीमतीसँग मनकुमारीसँग बेमेल रहेको र सम्बन्ध विच्छेदको लागि तयारी भइरहेको बुझिएको स्थानीयले बताएका छन् । श्रीमान्सँग खटपट भएपछि २६ वर्षीया मनकुमारी माइतमै बस्दै आएकी थिइन् । उनको पनि राति हत्या भएको थियो । सामुहिक हत्या र मानबहादुरको आत्महत्याको घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको हुनाले सबै कुरा अहिले सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ ।