झापाः मानव बेचबिखनलाई न्यूनीकरण गर्ने उद्देश्यले माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले यातायात व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको सभाहलमा मेची बस व्यवसायी सङ्घका अध्यक्ष मोहनप्रकाश उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागीले बसमा यात्रा गर्नेको गतिविधि बुझेर शङ्का लागेमा माइती नेपालमा खबर गर्ने तर उक्त सूचना गोप्य हुनुपर्ने बताएका थिए । उनीहरूले बेलाबेलामा तालीमको व्यवस्थाका लागि माइती नेपालसँग आग्रह गरेका थिए ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा माइती नेपालको एक्लो प्रयासमात्र सम्भव नहुने भन्दै सहभागीले यस क्षेत्रमा आइपर्ने समस्याका बारेमा सधैँ एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । मेची बस व्यवसायी सङ्घका उपाध्यक्ष विष्णु श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मेचीनगरका अध्यक्ष खडानन्द भण्डारी, सचिव दुर्गा खड्का, सदस्य शान्ता घिमिरे, महेन्द्र रिजाल, पुष्पराज कट्टेल, गणेश राई, राजेन्द्र चौहान, सुमन रावतलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन कार्यालयकी सहायक हेमन्त बुढाथोकीले गरेकी थिइन् ।