झापाः १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई झापाको बुद्धशान्तिमा अभिनन्दन गरिएको छ । मन्त्री कार्कीलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो ।

केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा चतराधाममा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा सामाजिक क्रियाकलापमा देखाएको सक्रियताको मूल्याङ्कन गरेको भन्दै मन्त्री कार्कीलाई अभिनन्दन गरिएको थियो ।

अभिनन्दन कार्यक्रममा अनन्त श्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पनि उपस्थिति रहेको थियो । अभिनन्दन कार्यक्रममा बालसन्त मोहनशरणले कुम्भमेला सम्पन्न गर्न प्रदेश कानुन मन्त्री कार्कीको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रदेश कानुनमन्त्री कार्कीले जगद्गुरु जन्मस्थलको बृहत्तर विकासका लागि राज्यका तीन तह नै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले बनाएको योजना सफल बनाउने कुरामा आफू पूर्ण रूपले लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘मलाई हत्तपत्त कुनै कुरामा दिलचस्पी लाग्दैन’, मन्त्री कार्कीले भने, ‘जब कुनै कुरामा दिलचस्पी लाग्छ छोड्दै छोड्दिनँ ।’ उनले आगामी ६ वर्षपछि लाग्ने कुम्भमेला प्रदेश सरकारले नै आयोजना गर्ने बताउँदै त्यस बखत राज्यको कुनै पदीय हैसियतमा रहे पनि नरहे पनि आफू कुम्भमेलाको आयोजकमै बसेर मेला सफल पार्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सो अवसरमा मन्त्री कार्कीले जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्रको आजीवन सदस्यता पनि लिए ।

कार्यक्रममा प्रदेश सांसद बिर्ख प्रधानले यस क्षेत्रको विकासका लागि आफूले प्रदेशमा योजना पेश गरिसकेको बताए । प्रधानले जगद्गुरुको जन्मस्थललाई तीर्थस्थलका रूपमा विकास गर्नुपर्ने धारणा राखे । त्यसका लागि सडक तथा भवन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बुद्धशान्तिले विश्वले मान्ने जगद्गुरु पाएको बताउँदै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबै पक्ष लाग्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँपालिका यस क्षेत्रको विकासका लागि पूर्ण रूपले लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

केन्द्रको निर्माणाधीन भवनको माथिल्लो तला गाउँपालिकाले निर्माण गर्ने पनि अध्यक्ष भुजेलको प्रतिबद्धता छ । कार्यक्रमका अर्का वक्ता विश्व हिन्दू परिषद्का अध्यक्ष देवराज अधिकारीले जगद्गुरु नेपाल राष्ट्रका मात्र नभएर विश्वका जगद्गुरु भएको बताए । केन्द्रका सदस्य केदार कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नन्दकुमार तिम्सिनाले गरेका थिए ।