भोजपुरः हिजो दिउँसो भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. २ स्थित मैयुङ क्षेत्रको धोद्रे जङ्गलमा गोली लागी घाइते भएका विप्लव माओवादीका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ ।

सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो । गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारवाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

स्थानीय स्वास्थ्य संस्थाबाट उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएका उनलाई हिजै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको थियो ।

हिले–भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसक्ने भएपछि उनलाई समयमा उपचारमा पु¥याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

बुधबार विहान ३ बजे उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइते घिमिरेको मृत्यु भएको हो । उनको तिघ्रामा गोली लागेको बताइएको छ ।

केही दिनदेखि विप्लवको हतियारधारी समूह भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको भन्ने सूचनाका आधारमा जनपद तथा सशस्त्र प्रहरीको टोलीले सो क्षेत्रमा गस्ती बढाएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले पेस्तोल, गोली, बाइनाकुलर, प्रचारप्रसारका सामग्रीसमेत बरामद गरेको जनाएको छ ।