बेलबारीः कोशी अञ्चल अस्पतालका २ जना विशेषज्ञ डाक्टरको १ महिनाको अवधिमा मृत्यु भएको छ ।

विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाल तथा हाडजोर्नी विशेषज्ञ डा. मुकुन्द दाहालको निधन भएको छ । मस्तिष्कघात भएपछि बैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा. अग्रवालको उपचारका क्रममा मङ्गलबार राति निधन भएको हो । दाहालको भने बैशाख १८ गते निधन भएको थियो ।

६ वर्षदेखि कोशी अञ्चल अस्पतालमा कार्यरत अग्रवाललाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । डा. अग्रवालको उपचारमा वरिष्ठ न्युरो फिजिसियन डा. डिल्लीराम काफ्ले, वरिष्ठ न्युरो सर्जन डा. प्रकाश काफ्ले, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपाल सहभागी थिए ।

अग्रवालको परिवारले भने चिकित्सकको लापरवाहीका कारण उनको निधन भएको आरोप लगाएको छ । ४३ वर्षीय डा. अग्रवाल पूर्व क्षेत्रकै चर्चित बालरोग विशेषज्ञका रूपमा परिचित थिए ।