ओखलढुङ्गाः राष्ट्रपति विद्यादेवी भण्डारी आज ओखलढुङ्गा आउने भएपछि गरिएको पिच बनाइनसक्दै पानीले बगाएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको एक सय ८ औं जन्मजयन्तीका अवसरमा श्रेष्ठको शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न आज राष्ट्रपति भण्डारी ओखलढुङ्गा आउँदैछिन् ।
भण्डारी आउने भएपछि सदरमुकामको बीच सडकमा वर्षौ अघिदेखि बनेका खाडल पुर्नुका साथै पिच गरेर ढल व्यवस्थापन गरिएको थियो । वर्षौँदेखि हुन नसकेका विकासका काम ३ दिनमा धमाधम भएका थिए ।
कार्यक्रमको आयोजक समेत रहेको सिद्धिचरण नगरपालिकाले रातारात विकासका काम गरेको थियो । रातारात गुणस्तरहीन सडक बनाउनुको कारणको बारेमा जिज्ञासा राख्दा राष्ट्रप्रमुखको आगमन हुने हुनाले हतारमा पिच गरिएको नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताएका थिए । सदरमुकामका बजार स्वागत ब्यानर र ध्वजापताकाले झिलीमिली बनाइएको थियो । बुधबार दिनभर सरसफाइ र सजावटमा स्थानीय जुटेका थिए ।
तर, बुधबार साँझको हावाहुरी र वर्षाले सडक भत्काएको र पहिलेको जस्तै बनाएको छ भने स्वागतको लागि टाँगिएका तुल र ब्यानर पनि उडाएको छ ।
१० लाख रुपैयाँ खर्च गरेर सडकको पिच गरेको नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए ।