उर्लाबारीः जनता आवास कार्यक्रमअन्तर्गत मोरङ क्षेत्र नं. १ को उर्लाबारीमा ५ वटा घरको शिलान्यास गरिएको छ ।

बिहीबार मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले ती घरको शिलान्यास गरेका हुन् । उर्लाबारी–८ को सन्थाल बस्तीमा ५ घर निर्माण गरिने भएको हो । प्रतिघर ३ लाख ३२ हजार रुपैयाँको लागतमा बन्ने बताइएको छ । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद लिम्बूले विपन्न समुदायलाई लक्षित गरेर जनता आवास कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।

सो कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, उर्लाबारी नगरपालिका वडा नं. ८ का अध्यक्ष कुलबहादुर कार्की, वडा नम्बर ९ का वडाध्यक्ष बमबहादुर फियाक लिम्बू, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।

त्यस्तै, मिक्लाजुङ–२ मा १, मिक्लाजुङ–३ मा १, मिक्लाजुङ–५ मा १ र मिक्लाजुङ–६ मा २ वटा घर निर्माण गरिने प्रदेश सांसद लिम्बूले जानकारी दिए । प्रदेशसभाबाट स्वीकृत भएको जनता आवास कार्यक्रम कार्वान्वयन कार्यविधि २०७५ को दफा ४ को उपदफा १ सँग सम्बन्धित लाभग्राही छनोटका आधारमा १० परिवार छनोट गरिएको थियो । प्रदेश नं. १ सरकारले प्रदेशभर नै जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ ।