धरानः सुच्चा राई कल्याण समाजले बिहीबार धरानमा उँभौली पर्वको अवसरमा ‘सुच्चा पूजा’ सम्पन्न गरेको छ ।

समाजको धरान–११ स्थित पूजा स्थलमा भेला भएर सुच्चा राईहरूले उँभौली पर्वमा सुच्चा पूजा गरेका हुन् । सुच्चा राई समाजका ज्येष्ठ नागरिक तथा पुजारी दुर्गाबहादुर राईको प्रमुख आतिथ्यतामा भएको सुच्चा पूजा कार्यक्रममा सुच्चा राईहरूको परम्पराअनुसार पूजा गरिएको थियो । कार्यक्रममा सहभागी हुन धरान तथा धरानबाहिरबाट सुच्चा राईहरू धरानमा भेला भएका थिए ।

सुच्चा राईहरूले पुर्खाहरूसँग आशीर्वाद माग्दै र प्रकृतिको पूजा गर्दै पूजाको समापन गरेका छन् । सुच्चा पूजा समारोहमा सहभागी चेली तथा माइती पक्षले पुर्खा र प्रकृतिको सम्मानमा सकेला समेत नाचेका थिए ।

कार्यक्रममा बोल्दै सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय अध्यक्ष विनोदकुमार राईले जातीय पहिचानका लागि आफ्नो संस्कार र संस्कृतिलाई सधैँ बचाउनुपर्ने बताए । संस्कार र संस्कृति रहेमात्र पहिचान रहने भन्दै उनले सुच्चा राईहरूको एकता र संस्कृतिप्रतिको आस्था उदाहरण भएको पनि बताए । कार्यक्रममा सुच्चा राईभित्रकी ज्येष्ठ भद्रकुमारी राईको पनि उपस्थिति थियो ।

कार्यक्रममा सुनसरी जिल्ला अध्यक्ष श्रीकुमार राईको पनि उपस्थिति रहेको थियो । उनले समाजको अगुवाइमा सुच्चा राईहरूको सामाजिक तथा सांस्कृतिक विकासका लागि एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रम बिना सुच्चा राईले सञ्चालन गरेकी थिइन् ।

suchha puja