उर्लाबारीः ९ जनाको वीभत्स हत्या सोमबार राती भएको थियो । सोमबार राति १० बजेसम्म धनराज शेर्माको घरमा धामी (चिन्ता) बसेका थिए । त्यसपछि सबै जना आ–आफ्नो घर गएका थिए ।
मङ्गलबार बिहान ५ बजे शेर्मा र फियाक परिवारको वीभत्स हत्या भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रविको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट प्रहरी कार्यालय करीब आधा घण्टा दूरीमा पर्दछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थललाई सिल गर्दै सुरक्षित गरेका थिए । स्थानीय जनप्रतिनिधिहरूले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
मङ्गलबार बेलुका करीब ४ बजे पाँचथरका प्रमुख जिल्ला अधिकारी आएका थिए । पाँचथर र पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान टोली घटनाको सुक्ष्म अनुसन्धानमा खटिएको थियो । तालीमप्राप्त कुकुरसहितको विशेष टोलीले घटनाको अनुसन्धान गरेको थियो । सङ्घीय प्रहरी कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक सनतकुमार खत्रीसहितको टोली घटनास्थल पुगेको थियो । पाँचथर, इलाम र झापाका प्रहरी टोली पनि त्यहाँ पुगेका थिए ।
प्रहरी टोलीले घटनाको अनुसन्धान तथा मुचुल्का तयार पारी राती करीब ११ बजे शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । सो समयसम्म प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा रहेको थियो । दुवै परिवारको हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर संलग्न रहेको प्रहरीको अनुमान छ । मानबहादुर रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
ट्याक्टरमा १० वटा शव
आरुबोटेमा ९ जनाको वीभत्स हत्या भएको थियो भने मिक्लाजुङ–८ मा १ जनाले आत्महत्या गरेका थिए । उनीहरू १० जनाकै शव मिक्लाजुङ गाउँपालिकाको ट्याक्टरमा राखेर राती ११ बजे पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
शव पोष्टमार्टमपछि बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्येष्टी गरिएको छ । धनराज शेर्माको परिवारका ५ जनाको भने मिक्लाजुङ–२ को सराङडाँडा बतासे भन्ने स्थानमा अन्त्येष्टि गरिएको ३ नं वडाका वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए ।
प्रहरीले चासो नदिँदा घटना भएको स्थानीयको भनाइ
बैशाख अन्तिम साताा घरेलु तथा साना उद्योगले सञ्चालन गरेको ढाका बुन्ने तालीमका प्रशिक्षार्थीले खाने खाजामा प्रयोग गरिएको नुनमा सिसाका कण मिसाएको पाइएको थियो । सो कार्यमा पनि मनबहादुर नै संलग्न रहेको आरोप लागेको थियो । प्रहरीलाई उक्त घटनाका बारेमा जानकारी गराइए पनि चासो नदिएका कारण यो ठूलो घटना भएको मिक्लाजुङ गाउँपालिका–३ का सदस्य नरबहादुर फियाकले आरोप लगाए । उनले भने, ‘त्यो बेला घटनालाई गम्भीर रूपमा लिएको भए यो घटना नहुने सम्भावना थियो ।’
घाइते बालिकाको उपचार प्रदेश सरकारले गर्ने
आरुबोटेमा २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो । हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई प्रहार गर्न थालेपछि आफू हाम फालेर भागेको उनले बताएकी छिन् । भाग्ने क्रममा उनको दाहिने हात भाँच्चिएको छ । नकावधारी व्यक्तिले अरूलाई हतियार प्रहार गरी आफूतिर आउँदा आफू हाम फालेर बाँचेको उनले बताएकी छिन् । सीता भागेर करिब ५० मिटर पर रहेको आफन्तको घरमा पुगेकी थिइन् ।
गाउँमा शोक र त्रास
मिक्लाजुङ–३ आरुबोटेमा ९ जनाको हत्या भएसँगै स्थानीय त्रसित बनेका छन् । उक्त घटना भएको आसपासका क्षेत्रका स्थानीय डरका कारण अहिले पनि घरमा बस्न सकेका छैनन् । स्थानीय श्यामकुमारी लावतीले ९ जनाको वीभत्स हत्यापछि गाउँमा त्रास सिर्जना भएको बताउँदै शान्ति सुरक्षाको माग गरिन् । स्थानीय व्यापारी मनमाया माखिमले वीभत्स हत्याले गाउँ शोकमा डुब्नुको साथै त्रासको वातावरण बनेको बताइन् ।
यस्तै, घटना भएको वडा नम्बर ३ का अध्यक्ष हस्तराज फियाकले दुःखद घटनाले गाउँ नै शोकमा डुबेको बताए । उनले दोषीको पहिचान गरी हदैसम्मको कार्वाहीको माग गरे । मृतक बमबहादुरकै घर नजिकै रहेकी आफन्त कान्छीमाया फियाकले असुरक्षाका कारण गाउँ नै छोड्न लागेको बताइन् । ९ जनाको वीभत्स हत्याले गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाइ छ । त्यस्तै, छिमेकी नरमाया फियाकले पनि असुरक्षाका कारण गाउँमा बस्न कठिन भएको र अन्य गाउँमा शरणमा बस्न बाध्य भएको बताइन् ।
(आरुबोटेबाट फर्किएर)