पथरीः स्थानीय सरकार निर्वाचित भएर आएको २ वर्ष बितिसक्दा समेत मोरङको पथरीशनिश्चरे नगरपालिकाले भने स्थायी कार्यालय पाउन सकेको छैन ।
२ वर्षसम्म स्थायी कार्यालयको व्यवस्थापन हुन नसकेपछि उद्योग वाणिज्य सङ्घले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।पथरी उद्योग वाणिज्य सङ्घले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनुपर्ने माग राख्दै नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।
संघका पदाधिकारीले नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलीपकुमार राईलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेका हुन् । सङ्घको ६ गते बसेको बैठकले पञ्चायत माविले संरक्षण गर्दै आएको पथरी बहुमुखी क्याम्पस पूर्वको खाली ७ बिघा जग्गामा नगरपालिकाको कार्यालयको भवन बनाउने निर्णय गरेको थियो ।
वडा नं. १०, २ र १ को सिमानामा रहेको सो ठाउँमा सङ्घले कार्यालय राख्न प्रस्ताव गरेको र सबैको पायक पर्ने ठाउँ भएको बताइएको छ । सो स्थानमा कसैको विरोध र अवरोध नहुने सङ्घका अध्यक्ष दीपक बस्नेतको भनाइ रहेको छ ।