पथरीः पथरीशनिश्चरे नगरपालिकाको केन्द्रका विषयमा जारी विवाद अन्त्य गर्नका लागि नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको संयोजकत्वमा नगरपालिकाले समिति निर्माण गरेको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले केन्द्रको विवादलाई सुल्झाएर जग्गाप्राप्तिको पहल गर्न उप्रमुखलाई संयोजक तोकी ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको समिति निर्माण गरेको छ ।
समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तिको पहल र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुङ्गो लगाएर भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
०६८ साल साउन ३२ गतेको राजनीतिक सहमति, त्यसपछि पुनरावेदन हुँदै सर्वाेच्च अदालतले समेत गरेको फैसलामा हालको वडा नम्वर १० स्थित भुटानी शरणार्थी शिविर क्षेत्रमा नगरपालिका केन्द्र तोकिएको थियो । तर सो क्षेत्रमा जग्गा प्राप्ति भइनसकेको भन्दै साबिकको पथरी गाविस कार्यालयमा अस्थायी केन्द्र राखिएको छ । जसका कारण भवन साँघुरो भएर कामकाजमा समस्या हुँदै आएको छ ।
वडा नम्वर १० तर्फका बासिन्दाले भने अदालतको निर्णयलाई कार्यान्वयन नगरी अवहेलना गरेको भन्दै नगरपालिकामाथि अवहेलनाको थप मुद्दासमेत लगाएका छन् । उनीहरूले शिविर क्षेत्रमै प्रदेश सरकारले निर्माण प्रक्रिया अघि सारेको अवस्थामा सोही ठाउँमा नगरपालिका कार्यालय भवनका लागि पनि जग्गा प्राप्तिमा सहजता हुने जिकिर गरेका छन् ।