उर्लाबारीः मोरङको उर्लाबारी–१ मा रहेका क्रसर उद्योग हटाउन आन्दोलित रहेका स्थानीय र क्रसर सञ्चालकबीच हिजो घम्साघम्सी भएको छ ।
स्थानीयवासीको विरोधका बाबजुद उर्लाबारी–१ स्थित पञ्चेश्वर क्रसर उद्योग शुक्रबार सञ्चालन भएपछि उनीहरूबीच घम्साघम्सी भएको हो । उर्लाबारी वडा नं. १ मा मापदण्डविपरीत क्रसर हटाउन माग गर्दै गत चैत १५ गतेदेखि निरन्तर रिले अनसनमा बसिरहेका छन् । क्रसर उद्योग सञ्चालन गरेपछि मापदण्डविपरीतका क्रसर कुनै पनि हालतमा सञ्चालन गर्न नदिने भन्दै स्थानीयहरू क्रसर उद्योगभित्रै पुगेर अवरोध सिर्जना गरे ।
बिहानैदेखि क्रसर उद्योग सञ्चालन गरेपछि स्थानीयवासीले अवरोध सिर्जना गर्न खोज्दा घम्साघम्सी भएको थियो । जसमा क्रसर उद्योगमा कार्यरत उर्लाबारी–७ का दिनेश ढकाल घाइते भएका छन् । उनको स्थानीय गोदावरी हस्पिटलमा उपचार भइरहेको छ । स्थानीयवासीले ‘हामी मर्न तयार छौं तर, क्रसर उद्योग सञ्चालन गर्न दिँदैनौँ’ भन्दै क्रसर उद्योगमै धर्ना दिएका थिए ।
केहीबेर प्रहरीको सहयोगमा क्रसर उद्योग सञ्चालन भए पनि जिल्ला प्रशासन कार्यालय मोरङमा भएको आपतकालीन बैठकले स्थानीयबासीबीच सहमति नभएसम्म क्रसर उद्योग सञ्चालन नगर्न आदेश दिएपछि अपराह्न्न पौने १ बजे क्रसर उद्योगको काम बन्द भएको क्रसर उद्योग हटाऊ समितिका संयोजक सम्बरबहादुर राईले बताए ।
एउटै वडामा हाल सञ्चालनमा आएका २ वटा र सञ्चालनको तयारीमा रहेका ३ वटा क्रसर उद्योगका कारण मानव बस्तीमा असर पुगेको भन्दै ५६ दिनदेखि निरन्तर आन्दोलन गरिरहेको उनले जानकारी दिए । कि मापदण्डविपरीतका क्रसर हटाऊ कि मानव बस्ती हटाऊ भन्दै स्थानीयवासीहरू आन्दोलित छन् ।
जिल्ला समन्वय समिति मोरङले अनुगमन समिति गठन गरी स्थलगत अनुगमन गरिसके पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । उर्लाबारी–१ मा गोविन्द भट्टराईलगायतको समूहको पूर्वेली क्रसर उद्योग र प्रकाश खड्गीलगायत समूहको पञ्चेश्वर क्रसर उद्योग सञ्चालित अवस्थामा छन् ।
त्यस्तै, उर्लाबारी–६ का जनप्रतिनिधि सचिन शाक्यको माँ पाथीभरा क्रसर उद्योग निर्माणको अन्तिम चरणमा रहेको छ । मिक्लाजुङ गाउँपालिकाका बबीकुमार राईको देवीस्थान मिनरल्स क्रसर उद्योग निर्माण शुरु भएको छ । पङ्कज शाक्यले सिद्धार्थ एग्रोगेट क्रसर उद्योग स्थापनाको तयारी रहेको छ ।
आन्दोलन विफल बनाउन क्रसर उद्योगका सञ्चालकहरूले भाडामा मान्छे प्रयोग गरेर स्थानीयलाई आतङ्कित पारेको भन्दै स्थानीयवासीले सुरक्षाको व्यवस्था मिलाउन माग गरे । स्थानीय चन्द्रप्रसाद दाहालले स्थानीयलाई त्रास सिर्जना गरेर मापपदण्ड विपरीत क्रसर सञ्चालन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
‘क्रसर उद्योगले एक हिसाबले दादागिरी नै गरिरहेका छन्’, उनले भने, ‘यस क्षेत्रमा सिङ्गो बस्ती र विद्यालयसमेत जोखिममा छन् ।’ उनले जनप्रतिनिधिहरू क्रसर उद्योगका सञ्चालकको मतियार बनेको भन्दै आक्रोेश पोखेका छन् ।
स्थानीय इन्दिरा दाहालले क्रसर उद्योगको आतङ्कले गाउँमै बस्न सक्ने अवस्था नभएको भन्दै क्रसर उद्योग हटाउन माग गरिन् । क्रसर उद्योगका कारण आजित बनेको भन्दै स्थानीय ५६ दिनदेखि आन्दोलित छन् । स्थानीयका अनुसार जनप्रतिनिधि, समाजका प्रतिष्ठित र गुण्डागर्दीको पृष्ठभूमि रहेकाहरूले मापदण्ड मिचेर लामो समयदेखि क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।
क्रसरका कारण आजित स्थानीयले उर्लाबारी नगरपालिका १ नम्बर वडा कार्यालय, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश सांसद, सङ्घीय सांसद, १ नम्बर प्रदेश सरकार, सङ्घीय सरकारका गृहमन्त्री, प्रधानमन्त्री केपी ओलीलगायतलाई ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
यता, पञ्चेश्वर क्रसरका सञ्चालकहरूले २ महिनादेखि क्रसर बन्द हुँदा ठूलो नोक्सानी भइरहेको बताए । सरकारबाट स्वीकृति प्राप्त गरी उद्योग सञ्चालन गरिरहेको उनीहरूको भनाइ छ । कुनै उद्योग मापदण्डविपरीत भन्दै दुई महिनादेखि बन्द गर्ने र कुनै निर्वाध रूपमा चल्ने भन्दै पञ्चेश्वरका सञ्चालकहरूले आपत्ति जनाए ।
क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भएर आन्दोलन गर्न बाध्य भएको स्थानीय जगन्नाथ दाहालले जानकारी दिएका छन् । उनले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसरले समस्या ल्याउन थालेपछि आन्दोलित बनेको बताएका छन् । सार्वजनिक स्थल, खोला र मानव बस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यसलाई मिचेर क्रसर सञ्चालन गरिएको छ ।
राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, हाइ टेन्सन लाइनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आंरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा क्रसर उद्योग रहनुपर्ने सरकारी मापदण्ड छ ।