इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारप्रति गरेको दुव्र्यवहारको घटनामा ४८ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्न नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले माग गरेको छ ।

समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारपछि पनि सञ्चारकर्मी र सञ्चारक्षेत्रप्रति लक्षित गर्दै थप अभिव्यक्ति दिने क्रम नरोकिएकाले ४८ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग महासङ्घले गरेको जनाइएको छ । पछिल्ला अभिव्यक्तिले प्रेसप्रतिको स्थानीय सरकारको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको पाइएको उल्लेख गरिएको छ ।

आज महासङ्घका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा ४८ घण्टाभित्र माफी नमागे थप आन्दोलनका कार्यक्रम ल्याइने उल्लेख छ ।

घटनाको २ दिनपछि उपमेयर लक्ष्मी गौतमले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा माफी मागे पनि सो विज्ञप्तिले पत्रकारिता पेशाको सम्मान नगरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रेस स्वतन्त्रता, पत्रकारको व्यावसायिक र पेशागत सुरक्षा एवम् कर्तव्यप्रति जिम्मेवार र सचेत बन्न पनि सरोकारवाला निकायसँग महासङ्घले आग्रह गरेको छ ।

dwarik lal chaudhary pradeshportal.com