उर्लावारीः किँरात राईहरुको महान् चाड उभौली साकेला आज मोरङको उर्लाबारीमा पनि धुमधामका साथ मनाएको छ । किँरात राई यायोक्खा उर्लाबारी नगर समितिको आयोजनामा उर्लाबारी – ३ स्थित साकेला थानमा किँरात राई तथा गैर किँरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाँच्दै, किराती जिवनशैलीलाई प्रस्तुत गर्दै उभौली साकेला मनाएका हुन् ।
किँरात राई समुदायमा साँस्कृतिक एवम् धार्मिक तवरले छुट्टै अस्तित्व बोकेको यो चाडलाई भातृत्व, भाइचारा तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रुपमा मनाउदै आएका हुन। कार्यक्रम मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) को प्रमुख आतिथ्यतामा भएको थियो । प्रदेश सांसद् साम्बाले नेपाल सांस्कृतिक बिबिधताको धनी देश भएकाले यस्ता चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताए ।
यस प्रकारका चाडपर्वले हामी नेपालीहरुबीच थप एकताबद्ध बनाउन प्रेरणा दिने उल्लेख गर्नुहुँदै प्रदेश सांसद् साम्बाले समृद्ध र विकसित समाज निर्माण गर्न सकियोस् भन्दै शूभकामना दिएका थिए।समृद्ध समाज निर्माण राजनीति गर्न नहुने बताउँदै प्रदेश सांसद् साम्बाले सबै राजनीतिक दलहरु मिलेर यस क्षेत्रको विकाशमा लाग्न आह्वान गरे ।
उहाँले किँरात राई यायोक्खा संस्थाको विकाशका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने घोषणा गरे । किँरात समुदायले बर्षभरीका दुःख पिडालाई बिर्सदै किराती जिवनशैलीलाई प्रस्तुत गर्दै एकआपसमा जमघट गर्ने थलोका रुपमा यस पर्वलाई मान्दै आएका छन् ।