इटहरीः छोरी बचाऔं, छोरी पढाऔं भन्ने नारा र वृक्षरोपणको सन्देश दिन साइकलयात्रामा निस्किएकी भारतीय साइकलयात्री सुनिता सिंहलाई सोमबार इटहरीमा स्वागत गरिएको छ ।
भारतको गुजरातस्थित सोमनाथ मन्दिरदेखि नेपालको राजधानीस्थित पशुपतिनाथको मन्दिरसम्म साइकल यात्रामा निस्किएकी उनलाई रोटरी क्लब अफ इटहरी तथा रोटरी क्लब अफ धरानले संयुक्त रूपमा उनको स्वागत तथा सम्मान गरेका हुन् ।
५ हजार किलोमिटर लामो साइकल यात्रामा निस्किएकी सिंहलाई रोटरी क्लब अफ रेवारीले सहयोग गरेको जनाइएको छ । धरान र इटहरीका रोटरी क्लबले साइकलयात्री सिंहलाई सुनसरी र मोरङको सिमाना बुढी खोला पुलमा स्वागत गरेका थिए ।
भारतमा चलेको अभियान ‘बेटी बचाओ, बेटी पढाओ’ की ब्रान्ड एम्बेसडर सिंहका अनुसार उनी दैनिक १ सय ५० किलोमिटर यात्रा गर्छिन् । भारतको नारी शक्ति अवार्डद्वारा सम्मानित सिंहले सन् २०११ मा सगरमाथाको सफल आरोहण पनि गरेकी थिइन् ।

एसओएसमा अभिमुखीकरण र वृक्षरोपण


साइकलयात्री सिंहले इटहरीस्थित एसओएस बालग्रामका विद्यार्थीसँग आफ्नो अनुभव साट्नुका साथै विद्यार्थीलाई अभिमुखीकरण पनि प्रदान गरेकी थिइन् । विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाका अनुसार विद्यालय छुट्टी भइसकेकाले आवासीय विद्यार्थीले मात्रै उनीसँग भलाकुसारी गर्ने अवसर पाएका थिए ।
‘सबै विद्यार्थीसँग भलाकुसारी गराउने हाम्रो योजना थियो,’ तिम्सिनाले भने, ‘तर विद्यालय समय सकिएपछि आइपुग्नुभएको हुनाले चिल्ड्रेन भिलेजमा रहने (आवासीय विद्यार्थी) सँग मात्रै अनुभव बाँड्ने काम भयो ।’
साइकलयात्री सिंहले विद्यालय परिसरमा वृक्षरोपण पनि गरेकी थिइन् । रोटरी क्लबले उपलब्ध गराएका २ सय बिरुवा साइकलयात्री तथा विद्यालयका कर्मचारी, शिक्षक र रोटरीका पदाधिकारीलगायतले विद्यालय परिसरमा रोपेका थिए ।