तस्बिरः लक्ष्मण थापा
धरानः किरात राई यायोख्खाले शनिबार धरानको भानुचोकमा किरात प्रदेशको माग गर्दै साकेला सिली प्रदर्शन गरेको छ । यायोख्खााको ९ नम्बर र १० नम्बर वडाको प्रारम्भिक समितिको आयोजनामा साकेला सिली प्रदर्शन भएको हो । कार्यक्रममा प्रदेश नम्बर १ को नाम किरात राख्न माग गरिएको थियो ।
कार्यक्रममा १ नम्बर प्रदेशका विपक्षी दलका नेता राजीव कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । साकेला सिली प्रदर्शनीमा किरात राईहरूले आफ्नो जातीय पहिरनमा उपस्थित भएर जातीय तथा सांस्कृतिक पहिचानको माग गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले हरेक जातजातिका भाषिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र पहिचान हुनुपर्ने बताए ।
उनले विविधतायुक्त नेपालमा कुनै एउटा जाति र धर्मको मात्र बोलवाला हुन नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोख्खाका पूर्व अध्यक्ष तिलक राईले किरात राईहरू आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।
उनले यायोख्खाले १ नम्बर प्रदेशको नाम किरात राख्न गरेको मागलाई सांस्कृतिक रूपमा पनि अगाडि बढाइएको बताए ।
साकेला सिली प्रदर्शनीका लागि आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता यायोख्खाका नगर कमिटी अध्यक्ष लोकेन्द्र राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन यायोख्खाका नगर सचिव मबिन राईले गरेका थिए । कार्यक्रममा धरान–८ का भुपालमान सिंह लिम्बूलाई सम्मान गरिएको थियो ।