धरानः धरानको १२ नम्बर वडा पनि बालमैत्री वडा घोषणा भएको छ । प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले १२ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् ।

बालमैत्री वडा घोषणा समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले बालबालिका देशको भविष्य भएको बताउँदै उनीहरूलाई सकारात्मक सोच, विकास र नैतिकताको व्यावहारिक शिक्षा दिनुपर्ने बताए ।

धरानमा यसअघि वडा नम्बर १३, १४, २० र १९ बालमैत्री वडा घोषित भइसकेका छन् । १२ नम्बर वडाले बाल अधिकारका ४ क्षेत्र बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता गरी ३९ वटा सूचकहरू पूरा गरेको वडाध्यक्ष टङ्क राईले जानकारी दिए ।

उनका अनुसार बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकमध्ये ३२ वटा सूचकमा शत प्रतिशत र बाँकी ६ वटा सूचकमा ९० प्रतिशतभन्दा माथि नतिजा प्राप्त गरेको छ । वडालाई बालमैत्री घोषणा गरिसकेपछि यसको निरन्तरता र दिगोपनको लागि पञ्चवर्षीय रणनीतिक योजना तयार पारिएको र अक्षरशः पालना गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा १२ नम्बर वडाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता थियो ।