पथरीः आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् पथरीशनिश्चरेको आयोजनामा ३ दिने सचेतनामूलक कार्यक्रम हिजो शुरु भएको छ ।

भागिरथ माविको हलमा भएको कार्यक्रमको उद्घाटन प्रदेश सभाकी सदस्य कृष्णकुमारी राईले गरेकी थिइन् । प्रदेश सभा सदस्य राईले सबै एकजुट हुन नसकेका कारण राज्यले हेर्ने दृष्टिकोणमा फरक परेको बताइन् । उनले पथरीमा जातीय सांस्कृतिक सङ्ग्रहालय बन्ने बताउँदै चार धाम, ग्रामथान भने नबन्ने बताइन् ।

उद्घाटन सत्रमा आदिवासी जनजाति महासङ्घका जिल्ला समन्वय परिषद् मोरङका कोषाध्यक्ष प्रेमकुमार राई, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष फिपराज बेघा, किरात याख्खा छुम्मा नगर अध्यक्ष बम देवान, नेकपा पथरी वडा नं. ४ का अध्यक्ष गंगा साँवा, कुलुङ समाजका अध्यक्ष नरबहादुर कुलुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रम आज हसन्दहमा र भोलि पथरीमा गरिने सङ्घका सचिव देवेन्द्र वनेमले जानकारी दिए ।