इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि आफूले गरेको दुव्र्यवहारको विषयमा माफी मागेका छन् । मेयर चौधरीले विज्ञप्ती जारी गर्दै पत्रकारहरूमा पुगेको चोटप्रति क्षमायाचना गरेका हुन् ।

लोकतन्त्र र कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको ग्यरेन्टी गरिएको हुनाले आफू सधैँ त्यसको पक्षमा रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

त्यही समयमा आफू धेरै काममा व्यस्त रहेको बेला पत्रकारहरूसँगको कुराकानीको क्रममा भएको विवाद तनावपूर्ण बन्न गएको र त्यसले पत्रकारको भावनामा चोट पर्न गएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । त्यस्तो कार्य गर्ने आफ्नो मनशाय नभएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । इटहरीको विकासमा पत्रकार र जनप्रतिनिधि मिल्नुपर्ने पनि उनले बताएका छन् । अघिल्लो साता उनले पत्रकार कृष्ण बहाब भट्टराई र विकल रेग्मीलाई दुव्र्यवहार गरेका थिए ।

गत ८ गते कर्मचारी र पत्रकारलाई गरेको दुव्र्यवहारको विषयमा उपमेयरले मागेको माफीप्रति पत्रकारहरू सन्तुष्ट नभएपछि मेयरले लिखित माफी मागेका हुन् । नेपाल पत्रकार महासङ्घ सुनसरीले मेयर आफैँले माफी माग्नुपर्ने भन्दै हिजो ४८ घण्टे अल्टिमेटम दिएको थियो ।