इटहरीः विवादमा रहेको डीभीएम स्कुलमा घेराबारा गर्ने कार्य शुरु भएको छ । आइतबार बिहान ८ बजेदेखि स्कुलले चर्चेको जमिनमा कम्पाउण्ड घेर्नेगरी खाल्डो खन्ने काम शुरु भएको कार्यवाहक मेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् ।
सार्वजनिक जग्गा मिचेर विद्यालयका संरचना बनाएको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जग्गा खाली गराउन निर्देशन दिएका थिए । तर विद्यालय पक्षले अटेर गर्दै नगरपालिकाको आग्रह बेवास्ता गरेपछि मेयरले अन्तिम पटक चेतावनी दिँदै विभिन्न विकल्प प्रस्तुत गरेका थिए ।
जेठ ७ गते अन्तिम पटक भन्दै विद्यालय सञ्चालक समितिलाई बोलाई बैठक बस्दा पनि उचित निष्कर्ष ननिस्कएपछि मेयर चौधरीको नेतृत्वमा जेठ ८ गते विद्यालय क्षेत्रभित्र डोजर चलेको थियो । त्यसपछि विभिन्न विवादमा मुछिएका मेयर सोलुखुम्बुमा रहेका छन् । कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर गौतमले भने नगरपालिकाले समिति नै बनाएर प्रतिवेदन पेश गरिसकेको र मेयर चौधरीले समेत सार्वजनिक जग्गा फिर्ता ल्याउन चालेको कदमलाई निरन्तरता दिएको बताइन् ।
कोशीपत्रसँग कुरा गर्दै गौतमले भनिन् ‘शनिबार विद्यालय पक्षका व्यक्तिलाई बोलाएर नगरपालिका पछि नहट्ने जानकारी दिइएको हो, तर उहाँहरूले भाडा तिरेर विद्यालय चलाउने बारे गम्भीर बन्नुभएन ।’ उनले आइतबार बिहान ८ बजेदेखि यसअघि नै शिलान्यास भइसकेको जनतापार्कको काम शुरु हुने जानकारी दिएअनुसार काम शुरु भएको बताइन् । सोहीअनुसार ठेकेदार पक्षलाई काममा बोलाएर तारजाली लगाउने कार्यको शुरुवात भएको उनको भनाइ छ ।
आइतबार पहिलो दिन विद्यालयको भवन पछाडि रहेको करीब १ सय मिटर जमिनमा तारबार लगाउन खाल्डो खनिएको छ । गौतम आफँै उभिएर खन्ने कार्य शुरु गर्दा विद्यालय पक्षका कसैले पनि प्रतिकार नगरेको जानकारी दिइन् । उनले विद्यालय सञ्चालक समितिलाई जानकारी गराएरै पठनपाठन भइरहेको स्थानलाई कुनै असर नगरी पार्कको काम अघि बढाइएको समेत बताइन् ।
शनिबारको बैठकमा विद्यालयलाई चाहिने आवश्यक जग्गा भाडामा लिन आग्रह गर्दा विद्यालय पक्षले कुनै ‘रेस्पोन्स’ नदिएको जानकारी दिइन् । ‘यसअघि मेयर साहेब र मैले पनि पटक–पटक विद्यालय पक्षलाई विकल्प प्रस्तुत गर्दै समय दिएका हौँ, तर उहाँहरू सिरियस बन्नुभएन,’ उनले भनिन् ।
गौतमले विद्यार्थीलाई कुनै असर नपुुगोस् भन्नका लागि पठनपाठनको वातावरणलाई बिगार्ने काम नगर्ने बताइन् । आफूले भर्ना गरेका विद्यार्थीको भविष्यका बारेमा विद्यालय गम्भीर नबने पनि स्थानीय सरकार गैरजिम्मेवार नबन्ने उनले बताइन् ।
उनले अहिले विद्यालयको भवन, क्यान्टिन र कार्यालय भवनलाई असर नगर्ने गरी खेलकुद मैदानतर्फको भागमा घेराबारा गरिने जानकारी दिइन् । आइतबार विद्यालय क्षेत्रपरिसरमा तारघेराका लागि खाल्डो खनिएको छ । केही दिनभित्रै काँडेतारले घेर्ने गरी कामदार लगाएर कामलाई तीव्रता दिइएको छ ।
इटहरीका प्रतिष्ठित व्यक्तिको समूहले स्थापना गरेको नेपाल दयानन्द वैदिक मिसन (डीभीएम) स्कुलले साढे ६ कठ्ठा जमिन खरिद गरेर ३ बिघाभन्दा बढी सार्वजनिक जग्गा ओगटेको छ । सोही विषयमा नगरपालिकाले ताकेता गरे पनि अझै उक्त जग्गा फिर्ता हुन सकेको छैन ।
विद्यालय पक्षले आफ्नो लालपूर्जा भएको जमिनमा विद्यालयको भवन नबनाई सार्वजनिक जग्गामा बिना नक्सापास भवन बनाएपछि विद्यालयतर्फ प्रश्न सोझिएको थियो । विद्यालय सञ्चालकको सार्वजनिक जग्गा हडप्ने नियत प्रष्ट रहेको भनी सर्वत्र आलोचना भइरहेको छ ।
सञ्चालक समितिका तर्फबाट मेयर चौधरीसँग पटकपटक वार्तामा बस्ने ध्रुव सुब्बाले आफूहरू सहमतिका साथ उचित विकल्प छानेर समस्याको हल खोज्ने बताएका थिए । तर अझै पनि विद्यालय पक्ष कुनै विकल्प लिएर नगरपालिका नपुुगेको कार्यवाहक मेयर गौतमले जानकारी दिइन् । बरु उल्टै विभिन्न नेतालाई फोन गर्न लगाउने र घुमाउरो शैलीमा थर्काउने काम भएको उनले दाबी गरिन् ।