धरानः पिण्डेश्वर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा धरानमा प्रभावकारी उद्घोषण कला तालीम सम्पन्न भएको छ ।
शनिबार धरान– ८ स्थित ताप्लेजुङ– सुनसरी सरोकार समाजको सभाहलमा सम्पन्न तालीममा संस्थाका सदस्यका परिवारका २५ जना युवाको सहभागिता रहेको थियो ।
सहकारीका सात सिद्धान्तमध्ये पाँचौँ सिद्धान्त सूचना, शिक्षा र सञ्चार अन्तर्गत रहेर तालीमको आयोजना गरिएको संस्थाका व्यवस्थापक कुलचन्द्र न्यौपानेले बताए ।
समाजमा आयोजना हुने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक उद्घोषक उत्पादन गर्न तालीमले महत्वपूर्ण सहयोग पु¥याउने सहजकर्ता विष्णु बरालले विश्वास व्यक्त गरे । तालीममा उद्घोषण, वाक् कला, प्रस्तुतिकला, माइक्रोफोन र पोडिएमको प्रयोग एवम् कार्यक्रमको पूर्व तयारीको विषयलाई जोड दिएको अर्का प्रशिक्षक दीपेन्द्र निरौलाले जानकारी दिए ।
तालीमले आफूहरूमा उद्घोषण कलासम्बन्धी सीप विकास गर्नुका साथै आत्मविश्वास बढेको सहभागीले प्रतिक्रिया दिएका थिए ।