धरानः धरान उपमहानगरपालिका दलित विकास समितिको आयोजनामा जेठ २१ गते धरानको भानुचोकमा आमसभा हुने भएको छ ।
समितिका संयोजक तथा कार्यपालिका सदस्य किशोर परियारका अनुसार दिउँसो ११ बजे आमसभा हुने भएको हो । अहिले पनि गाउँ तथा शहरमा जातका आधारमा मानिसले मानिसलाई भेदभाव गर्ने प्रथा कायम रहेकाले यसको अन्त्य गर्न आमसभाको आयोजना गरिएको संयोजक परियारले बताए ।
२०६३ जेठ २१ गते तत्कालीन अन्तरिम संसदले नेपाललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । सोही घोषणालाई सार्थकता दिन सरकारले हरेक वर्षको जेठ २१ गते छुवाछुतमुक्त राष्ट्रिय दिवस मनाउँदै आएको छ ।
कार्यक्रममा सडक नाटक, नृत्य लगायतका कार्यक्रम समेत रहने सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् । कार्यक्रम सफल बनाउन २३ सदस्यीय मूल समिति र विभिन्न ९ वटा उपसमिति गरी ८७ जनाको कार्यक्रम व्यवस्थापन समिति गठन गरिने सदस्यसचिव लामगादेले बताए ।
सो सभामा सहभागी गराउन दलित विकास समितिले सरोकारवाला सबैसँग छलफल गर्दै अघि बढेको सदस्य रामकुमार दासले बताए । जेठ ७ गते धरानका २० वटै वडाका दलित महिला सदस्यसँग समितिको बैठक बसिसकेको दासले बताए ।
धरान–१७ की वडा सदस्य फूलमाया परियारले जेठ ९ गते धरानका दलित सङ्घसंस्थाका प्रमुखसँग समेत समितिको संयुक्त बैठक बसेको बताइन् । विश्वकर्मा कल्याण सेवा समिति प्रधान कार्यालय धरानमा बसेको बैठकमा परियार सेवा समाजका केन्द्रीय उपाध्यक्ष लक्ष्मण दास, नेपाल दलित सङ्घका केन्द्रीय सदस्य गोविन्द दर्नाल, विश्वकर्मा समाज नेपाल १ नम्बर प्रदेश अध्यक्ष लालबहादुर सेन्चुरी सहभागी थिए ।
त्यस्तै, मुक्ति समाज धरानका संयोजक खगेन्द्र नेपाली, मिजार सेवा समाजका अध्यक्ष धनबहादुर हमाल, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष केदार बराइली लगायतले जेठ २१ गते धरानको भानुचौकमा हुने आमसभालाई भव्य रूपमा सम्पन्न गर्न आ–आफ्ना सङ्घ सङ्गठनमा योजनाबद्ध रूपमा लागि पर्ने बताएका छन् ।
दलित विकास समितिले आमसभाका लागि राजनीतिक दल, सुरक्षा निकाय लगायतसँग पनि बैठक बसेर भव्य तयारी गरिरहेको दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी बताए ।
दलित महिला सञ्जाल धरानकी अध्यक्ष नरमाया परियारका अनुसार कार्यक्रमले हरेक वडामा जनचेतना फैलाउन सहयोग पुग्नेछ ।